रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
ब्रुनाई, किरात राई यायोक्खा महासघं ब्रुनाईको आयोजनामा न्यु क्वार्टर बन्दार सेरी बेगवान ब्रुनाईको राजधानी नजिकैको गाउँमा साकेला उभौली (येलेदङ्ग ५०७३) भब्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमको उदघोषण बिदुर राज मुकारुङ्गले गर्नु भएको थियो। कार्यक्रम साकेला महासघं ब्रुनाईका अध्यक्ष समाजसेवी सिनियर क्या. रघुविर राईको प्रमुख आतिथ्यतामा शनिबार भब्यरुपमा सम्पन्न भएको हो। सोम थुलुङ्ग तथा गायक किशन राई र समाजसेबी क्या. बद्री राईलाई कार्यक्रमको नाक्छोङ (किराँती धामी) बिदुरराज मुकारुङ्गले सेतो फेटा टाउकोमा लगाई दिएर उक्त कार्यक्रमको माझमा सम्मान गर्नुभएको थियो। साकेला नाच राजधानी काठमाडौंलगायत नेपालको पूर्बी जिल्लाहरु विशेष गरेर झापा, मोरङ कानेपोखरी,सुनसरी, भोजपुर र खोटाङमा बढी मात्रामा प्रचतिल र लोकप्रिय रहेको छ। साथै नेपालबाहिर किराँती बस्तीहरु भएका देशहरु सीक्किम, अमेरिका, बेलायत, हङकङ , जापान, कोरिया, मलेशिया, कतार र ब्रुनाईमा समेत अहिले भव्यरुपमा मनाउने गरिन्छ।

कार्यक्रममा भोजपुर निवासी जितेन्द्र बान्तावा राई यसो भन्नुहुन्छ किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो देवतालाई चढाउने र खानका लागि अनुमति माग्ने साथै पितृलाई स्मरण दिलाउने यो पर्ब अति नै महत्वपुर्ण ठहर गर्छन्। बालबालिका, बृद्ध सबै आपसमा गोलो घेरा लगाएर बिभिन्न जनावर, चराचुरुङ्गीहरुको नक्कल गर्दै साकेलानाच नाच्ने गरिन्छ। विशेष चौरीको पुच्छर (चमर) जनावरहरुको नक्कल गर्न प्रयोग गरिन्छ भनेर नाचमा सहभागी दोश्रो गोर्खा पल्टनका सार्जन्ट जितेन्द्र राईज्यू बताउनुहुन्छ। साथै नाचमा सहभागी पुरुषहरुको पोशाक, खाडीको दौरा सुरुवाल, कोट, ढाका टोपी, मयूर र लुईचेको प्वाख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी, मखमल वा ढाकाको चोलो सेतो पटुकी लगाउने चलन छ। गरगहनामा ढुङग्री, मुन्द्री, बुलाकी, हारी, सिक्काको माला समेत लगाउने गर्दछन्।

उभौली र उधौलीको नामले बर्षमा दुई पटक किराँत समुदायले यो पर्ब मनाईने गरिन्छ। कुखुराको भाले, पोथी र सुगुर आदि जनावरको बलिदिने चलन छ। बाली लगाउने बेलामा भने उभौली पर्ब मनाउने प्रचलन छ।

साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंङसिर पूर्णिमाको पूर्ण चन्द्रमा उदाउने बेलामा मनाउने गरिन्छ। किरातहरुको मुन्धुमअनुसार १ बर्षलाई दुई भागमा लिईन्छ, (उभौली र उधौली) यसैको रुपमा यो चाड मनाउने परम्परा चलि आएको हो। उभौली र उधौली किरात समुदायको मुख्य चाड हो। याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङनाम र राईहरुले साकेला भन्ने चलन छ। उधौली चाडमा नाक्छोङ्ग (किराती धामी) ले सेउलीको थानमा सुम्निमा – पारुहाङ्गको तस्विर, ढोल र झ्याम्टाको पूजा गरि थान वरिपरी नाच्न सुरु गर्छन्।

कार्यक्रमको बिचमा भू पू क्या. डम्बर राई, क्या. बद्री राई, क्या. राम राईज्यूले प्रवासमा रहे पनि आफ्नोपन, संस्कृति र चाँडपर्वलाई मनाउदै भावी सन्ततिहरुलाई सिकाउदै लैजानु पर्छ भनेर आफ्ना मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको अन्त्यमा मेजर सोम थुलुङले कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नुभएको थियो भने यस कार्यक्रमलाई बिदुर राज मुकारुङ्गले सञ्चालन गर्नु भएको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस