Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

लोपोन्मुख मातृभाषाको संरक्षण आवश्यक-थापामगर

रूद्र श्रीसमगर / एचकेनेपाल डट कम-
पोखरा, २९ फाल्गुण । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगरले नेपालका लोपोन्मुख मातृभाषाहरूको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभएको छ।

प्रतिष्ठानको आर्थिक सहयोगमा बागलुङ-पोखरा मगर समाजद्वारा विहीबारदेखि सञ्चालित मगर भाषा प्रशिक्षण कार्यक्रमको अनुगमनका अवसरमा बोल्दै थापामगरले सबै आदिवासी जनजातिहरूले आफ्नो मातृभाषाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो।

उहाँले प्रतिष्ठानले आदिवासी जनजातिका मातृभाषाको संरक्षण एवं विकासमा लाग्ने संघसंस्थाहरूलाई थोरै भएपनि आर्थिक सहयोगमार्फ प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै समाजले मगर भाषाको संरक्षणका लागि पहल थालेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।

मगर भाषाका प्रशिक्षक रूद्र श्रीसमगरले मगर जातिको मातृभाषाप्रतिको मोह बढ्दै जानु मगर भाषाका लागि सकारात्मक रहेको भन्दै मातृभाषा नजान्ने मगरहरूलाई जान्ने बनाउन देशव्यापी भाषा प्रशिक्षण अभियान चलाउनुपर्ने कुरामा जोड दिनुभयो। मगर भाषालगायतका मातृभाषाहरूको संरक्षण गर्नु राज्यको विशेष दायित्व रहेको भन्दै प्रशिक्षक श्रीसमगरले त्यसका लागि राज्यको लगानी बढाउनु आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा प्रशिक्षार्थी एवं पत्रकार मनोज घर्तीमगरले पनि बोल्नुभएको थियो । समाजका अध्यक्ष भीमबहादुर श्रीसमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्णाकुमारी श्रीसमगरले गर्नुभएको थियो।

१५ दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा पोखराका अधिकांश मगर महिलाहरूसहित ८० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by