एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १० जेठ। भारत प्रवासमा रहेका नेपालीको हक अधिकारका लागि सक्रिय तीन संस्थाका नेताहरुले कार्यरत मुलुकबाटै मतदान गर्न नपाए आन्दोलनमा जाने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालमा शुक्रवार पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको मागबारे राज्यसँग छलफल गरेपनि सुनुवाई हुने संकेत नमिलेकोले आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका हुन्। नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले मतदानको अधिकारबाट वञ्चित पार्ने ढंगबाट प्रवासी नेपालीको बेवास्ता गरिएको भन्दै कडा आन्दोलनको चेतावनी दिए। उनले भने,‘कार्यरत मुलुकमै मतदाता नामावली सुचीकृत र मतदानको अधिकार सुनिश्चित नगरिए आन्दोलनमा जान वाध्य हुनेछौं।’

पाण्डेले आफूहरुको माग पुरा नभए भारतमा रहेको नेपाली दूतावास घेराउ गर्ने, भारतबाट नेपाल पठाउने रेमिट्यान्स रोक्ने र नेपालको सिमामा धर्ना प्रर्दशन गर्ने लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने स्पष्ट पारे। विदेशमा बस्ने नेपालीबाट रेमिट्यान्स लिने तर उनीहरुको मतदान गर्ने नैसर्गिक अधिकारका लागि बेवास्ता गर्ने भन्दै उनले आक्रोस ब्यक्त गरे। माग लिएर सरकार प्रमुख, निर्वाचन आयोग र राजनीतिक दलका नेताहरुसमक्ष पुग्दा समेत आश्वासन केही नपाएकोमा असन्तुष्टि ब्यक्त गर्दै पाण्डेले आश्वासनको खेती गर्ने प्रवृत्तिको तत्काल अन्त गरी कार्यान्वयनमा लाग्न दबाब सृजना गर्नुपर्नेमा जोड दिए।

प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीले आसन्न संविधानसभा निर्वाचनमा कार्यरत देशबाटै मतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे। आफूहरुले उठाएको सवाल मागभन्दा नैसर्गिक अधिकार भएको भन्दै त्यसलाई बेवास्ता गर्नुले राज्यको नियत नै सहि नभएको स्पष्ट भएको दावी गरे।
उनले भने,‘पटक पटकको आश्वासन सुनेर चुप लागेर बस्दैनौं, आन्दोलनमा जान वाध्य हुनेछौं।’ अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलानाथ रेग्मी, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई समेत भेट्दा माग जायज भनिएको तर सम्बोधन गर्नेतर्फ कुनै काम नहुनेगरेकोमा असन्तुष्टि जनाए।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सल्लाहकार मित्रलाल शर्माले राज्य र ठूला दलहरु प्रवासी नेपालीहरुको मतदान अधिकारप्रति गैरजिम्मेवार बनिरहेको आरोप लगाए। उनले भने,‘ठूला दलहरुले निर्वाचन आयोगमा हुने छलफलमा प्रवासी नेपालीलाई कार्यरत देशमै मतदानको व्यवस्थाको प्रक्रिया बढाउनेबारे महत्व नदिनेगरेको बुझियो।’ देशको एक तिहाई जनसंख्या विदेशमा रहेको अवस्थामा उनीहरुलाई मतदानबाट वञ्चित पार्ने ढंगको कामले निर्वाचनको सार्थकतामै प्रश्न उठ्ने बताए। विदेशीहरुले नेपाली नागरिकता लिइरहेको प्रसंग औल्याउँदै भारत प्रवासमा रहेका नेपालीहरुले आधिकारिक प्रमाण हुँदाहुँदै पनि मतपरिचय बनाउनबाट वञ्चित हुनुपरेको उल्लेख गरे। उनले भने,‘भारत प्रवासमा रहेका ६५ लाख नेपाली नागरिकहरुको मताधिकारप्रति राज्य गम्भीर नहुनु आपत्तिजनक छ ।’ उनले भारतमा रहेका नेपालीहरुको सुरक्षाको अवस्था गम्भीर बन्दै गएपनि राजदूतावासको भूमिका सन्तोषप्रद नभएको बताए।

कार्यक्रममा प्रवासी नेपाली संघका महासचिव युवराज बास्कोटाले भारतका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको संस्थागत प्रतिनिधिमण्डले राज्यका जिम्मेवार अधिकारी र राजनीतिक दलका नेताहरुसँग भेटी आश्वासन मात्र मिलेको र प्रक्रिया थाल्नेतर्फ प्रगति हुने संकेत नपाएको बताए। आफूहरुलाई निराश पार्ने काम भएकाले चुप लागेर नबस्ने बताए। कार्यक्रममा नेपाली जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष रामनाथ अधिकारी, प्रवासी नेपाली संघ भारतका वरिष्ठ सल्लाहकार खेमचन्द्र ढकाल, केन्द्रीय सदस्य मोहन थापा, मूल प्रवाह अखिल भारतका महासचिव कुलबहादुर दुरको उपस्थिति थियो।

प्रवासी नेपालीहरुको हकहित र सेवामा समर्पित रहँदै आएका प्रवासी नेपाली संघ भारत, नेपाली जनसम्पर्क समिति भारत र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त प्रतिनिधिमण्डल नेपाल आई चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलाराज रेग्मी, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई भेटी १२ बुँदे ज्ञापनपत्र बुझाएपछि पत्रकार सम्मेलनमार्फत् भावी रणनीतिका बारे सार्वजनिक गरेका हुन्। ज्ञापनपत्रमा आसन्न संविधानसभा निर्वाचनमा प्रवासी नेपालीहरुको मतदाता नामावली सुचिकृत गर्नपर्ने, कार्यरत मुलुकबाटै मतदानको अधिकार पाउनुपर्ने, समानुपातिक प्रतिनिधित्व सुनिनिश्चन गर्नुपर्ने, प्रवासमा रहेका नेपालीहरुको सुरक्षाका अलावा देशको ज्वलन्त समस्या समाविष्ट मुद्या उल्लेख छन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस