सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
पोखरा, ९ जेठ। पोखरा शहरभित्रका केही खण्डमा मंगलबार दिउँसोदेखि अबरुद्ध रहेको विद्युत तीनदिन बितिसक्दा पनि सुचारु हुन सकेको छैन। विद्युत लाईन नहुदा स्थानीयबासीले समस्या भोग्नुपरेको छ।

पोखराको पृथ्वीचोक, नागढुंगा लगायतका क्षेत्रमा तीनदिनदेखि विद्युत अवरुद्ध छ। विद्युत नहुँदा पानी तान्न, उद्योग चलाउन र दैनिक कामकाजमा समस्या परेको स्थानीयबासीले बताए । विद्युत नहुँदा बिजुलीबाट चल्ने उपकरण संचालनमा सबैभन्दा बढि समस्या परेको उनीहरुले बताए।

तीनदिनसम्म बिजुली नपाएपछि स्थानीयबासीसहित पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष रिजन शेरचन सहितका पदाधिकारी विहीबार दिउँदो विद्युत प्राधिकरणमा पुगेका थिए। उनीहरुले विद्युत नहुँदा आफूहरुको दैनिकीमा समस्या परेको प्राधिकरणसमक्ष गुनासो पोखेका थिए। विद्युत प्राधिकरणले भने एकैपटक ३ वटा ट्रान्सफरमर जलेकोले समस्या आएको जनाएको छ।

प्राधिकरण वितरण शाखाका प्रमुख मनोजकुमार सिंहले १÷२ दिनको अन्तरमा तीनठाउँमा ट्रान्सफरमर जलेकोले समस्या परेको बताए। ‘एकैपटक धेरै ठाउँमा ट्रान्सफरमर जले, जसले गर्दा अभाव भयो’ उनले भने, ‘ट्रान्सफरमर जल्दा यसअघि यतिधेरै समस्या आउँदैनथ्यो, तर अहिले ट्रान्सफरमर अभाव भएर हो।’ उनले अबका दुईदिनभित्र विद्युत पूर्ण रुपमा सुचारु हुने जानकारी दिए। प्राधिकरणसँग रहेका ट्रान्सफरमर सकिएको र बाहिरबाट मगाउँदा पनि समय बढि लागेको उनले बताए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस