उद्वव भट्टराई/ एचकेनेपाल डट कम-
काठमाडौं, ९ जेठ। नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले व्यवसाय र व्यवसायीहरुको विरोधमा वोलेको भन्दै बैदेशिक रोजगार व्यवसायीहरुले तत्काल राजिनामाको माग राख्दै उनको कार्यकक्षमा बिहीवार तालाबन्दी गरेका छन्।

व्यवसायीहरुको छलफलपछि संघका पूर्व अध्यक्ष प्रेमबहादुर कटुवाल, संघका सल्लाहकार हंशराज वाग्ले र व्यवसायी किरणकिशोर घिमिरेले संयुक्तरुपमा अध्यक्ष तामाङको कार्यकक्षमा ताला लगाएका हुन्।

संघका अध्यक्ष तामाङले संघको कुर्सीमा बसिरहन नहुने भन्दै राजिनामाको दवाव दिनका लागि ताला लगाइएको संघका सल्लाहकार वाग्लेले वताए। ‘व्यवसायीहरुको विरोधमा वोल्दै हिड्नेले संघमा आउन समेत हुँदैन’ संघका पूर्व अध्यक्ष कटुवालले भने–‘ आम व्यवसायीहरुको मर्यादामा आँच आएको छ।’

अध्यक्ष तामाङको कार्य शैलीप्रति असन्तुष्टी जनाउँदै संघका कार्यसमितिका १३ जनाले संयुक्त राजिनामा दिइसकेका छन्। संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसााद गैरे, द्धितिय उपाध्यक्ष कुमोद खनाल, तृतिय उपाध्यक्ष भुवन गुरुङ, महासचिव कमल तामाङ, कोषाध्यक्ष शारदा न्यौपाने लगायत १३ जनाले संयुक्त राजिनामा दिएका हुन्। बुधवार राजिनामा दिएकी सदस्य आशा लामाले आफ्नो राजिनामा विहिवार फिर्ता लिएकी छिन्।

व्यवसायी संघको कार्यालयमा व्यवसायीहरु जम्मा भई बिहिबार पनि अध्यक्षको विरोध गरे। उनीहरुले संघका अध्यक्षले व्यवसायीहरुको हक हितका लागि काम गर्नु र वोल्नु पर्नेमा उल्टै व्यवसायीहरुलाई बद्नाम गराउने कार्य गरेको भन्दै चर्को आलोचना समेत गरे। व्यवसायी टिका शिवाकोटी भन्छन्–‘ संघको अध्यक्षले नै गैर कानूनी काम गर्दारहेछन्, सवै व्यवसायी कानूनी दायरामा नै बसेर काम गरिरहेका छन्।’ उनले संघका केही पदाधिकारीहरु अध्यक्ष तामाङको गलत कार्यको पछाडि लागेर सति नजान आग्रह गर्दै तत्काल राजिनामा दिन अनुरोध गरे।

यता संघका अध्यक्ष बलबहादुर तामाङले बिहिवार नै संघको प्राङ्गणमा व्यवसायी भेलाको आयोजना गरी आफूले व्यवसायीहरुको मर्यादामा आँच आउने कुरा नगरेको जिकिर गरे। पत्रकार सम्मलेन समेत सोही अवसरमा गर्दै अध्यक्ष तामाङले पत्रिकामा आएको समाचारले आफ्नो भनाईलाई वढि प्राथमिकता दिएको र वढि अतिरञ्जित बनाएको वताए। उनले प्रेस विज्ञप्ति जारी गर्दै आफूले भनेको कुरावाट व्यवसायीहरुको भावनामा ठेस पुग्न गएकोमा आफू गम्भीर भएको वताए।

उनले बैदेशिक रोजगार ऐनका कारण व्यवसायीहरुले गैरकानूनी काम गर्न वाध्य भएको जिकीर गरेका छन्। उनले व्यवसायीहरुको चर्को विरोध आउँदासम्म आफ्नो लक्ष्यसम्म निरन्तर लागिरहने प्रतिवद्धता जाहेर गर्दै राजिनामा नदिने वताए। उनले भने–‘ म राजिनामा दिन्न बरु राजिनामा दिएका कार्यसमितिका पदाधिकारीहरुलाई फर्कन आग्रह गर्दछु।’


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस