एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ११ बैशाख । नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मंसिरभित्र संविधानसभाको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने दावी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले मंसिरमा निर्वाचन सम्पन्न गर्नु अन्तिम अवसर भएको उल्लेख गर्दै निर्वाचन हुन नसके राजनीतिक दलहरु, प्रधानन्यायाधिस र निर्वाचन आयोगका पदाधिकारीहरु माथिको विश्वास नै समाप्त भएर जनताको नजरमा कहिल्यै पनि उठन नसक्ने गरी गिर्ने ठोकुवा गरे।
साक्षात्कारमा महामन्त्री सिटौलाले भने–संविधानसभा विघटनपछि लोकतन्त्र नै डिरेल भएको अवस्थामा निर्वाचन नगरी ट्रयाकमा आउँदैन। त्यसैले जसरी पनि मंसिरमा निर्वाचन गर्नै पर्छ। उनले निर्वाचन आयोगले आफ्नो काम प्रभावकारी रुपमा गर्न नसकेकोले निर्वाचनको विषयमा आशंकाहरु उत्पन्न भएको भन्दै असार १५ सम्म मतदाता नामावली संकलनको काम पुरा भए मात्रै मंसिरमा निर्वाचन सुनिश्चित हुने सक्ने बताए। सिटौलाले भने–निर्वाचन आयोगमा गयो भने आयुक्तहरु काम भईरहेको देखाउनु हुन्छ तर फिल्डमा केही काम हुन सकेको छैन । यस्तो तालले निर्वाचन हुँदैन।
आगामी निर्वाचनमा कसैसँग पनि तालमेल गर्ने विषयमा कुराकानी नै नभएको भन्दै शिर्ष नेताहरुले तालमेलको विषयमा गरेको भाषण उनीहरुकै ब्यक्तिगत कुरामात्रै भएको बताए। उनले भने–गठबन्धनको विषयमा छलफल भएकै छैन। काग्रेस तालमेल गर्ने रणनीतिमा पुगेकै छैन। तर काग्रेसले लोकतान्त्रिक शक्तिको अगुवाई भने गर्छ। सिटौलाले शिर्ष नेताहरु कोही पनि समानुपातिकमा नबस्ने ,सबै शिर्ष नेताहरु निर्वाचनमा प्रत्यक्ष तर्फबाट उठ्ने निश्चित प्राय भएको जानकारी दिदै निर्वाचनको बेला पार्टीले उमेदवार चयनको लागि सर्वसम्मत ढंगले संसदीय बोर्डको गठन गर्ने दावी गरे । उनले बोर्ड गठनमा बाहिर आए जस्तो पार्टी भित्र कुनै विवाद नभएको समेत बताए। उनले ४ वर्षमा पनि संविधान बनाउन नसकेर समय वर्वाद गरेको गुनासो र अब एक वर्षभित्रै संविधान निर्माण गर्नु पर्ने सुझाव जनताबाट आएकोले काग्रेस त्यसको पक्षमा रहेको स्पष्ट पारे।
दलहरुकै नेतृत्वमा सरकार गठन गर्न नसक्नु र लोकतन्त्रको उपलब्धिलाई संस्थागत गर्न नसक्नु दलहरुको ऐतिहासिक कमजोरी भएको बताउँदै महामन्त्री सिटौलाले माओवादीले शान्ति प्रक्रिया तोकिएकै समयमा टुङग्याउने हिम्मत नगरेकोले संविधान निर्माण हुन नसकेको आरोप लगाए । उनले भने–हतियार ब्यवस्थापन नहुँदा माओवादीमा अरुले र अरुमा माओवादीले सत्ता कब्जा गर्ने त्रास रहिरहयो । जसले दलहरुवीच अविश्वास बढाउँदा अहिलेको अवस्था आयो।
पुरानो संविधानसभाले गणतन्त्रलाई संस्थागत गर्नु बाहेक अरु कुनै पनि विषयमा ठोस निर्णय गर्न नसकेकोले दलहरुले पुरानो कामको स्वामित्व ग्रहण गरेपनि नयाँ संविधानसभाले संघीयता, राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्यायालय लगायतका विवादित विषयमा नयाँ ढंगले सोच्ने बताए । उनले भने–पुराना कामहरु मार्ग निर्देशक बन्न सक्छन बाध्यकारी बन्दैनन् । उनले बाह्र बुँदे सम्झौताको अन्तिम लक्ष्य संविधान निर्माण भएकोले अहिले पनि त्यसको औचित्य कायमै रहेको दावी समेत साक्षात्कारमा गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस