एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ बैशाख। प्रमुख दलका प्रभावशाली नेताहरुले निर्वाचनको विरोधमा रहेका नेकपा–माओवादी सहितका दलहरुले भाग नलिए पनि संविधानसभाको निर्वाचन नरोकिने स्पष्ट पारेका छन्।

agni sapkotaरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले नेकपा–माओवादीले अघि सारेको उच्चस्तरीय राजनीतिक समिति खारेजी, वर्तमान सरकारको अन्त्य र गोलमेच सम्मेलनमार्फत अन्तरिम सरकारको गठन जस्ता कुनै पनि माग पुरा गर्न नसकिने समेत ठोकुवा गरे।

साक्षात्कारमा एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले मुलुकको अहिलेको प्रमुख आवश्यकता निर्वाचन भएकोले नेकपा–माओवादीले नआए पनि निर्वाचन हुने ठोकुवा गरे। साक्षात्कारमा उनले भने–निर्वाचन मुलुकको आवश्यकता हो । यसको विकल्प छैन । नेकपा–माओवादी समयको प्रवाहसँगै अगाडि नबढे ईतिहासमा उ आफै लोप भएर जान्छ।

उच्चस्तरीय राजनीतिक समिति निर्वाचनको वातावरण बनाउन सरकारको ब्याकअपको रुपमा रहेकोले यसको खारेजी हुन नसक्ने समेत सापकोटाले स्पष्ट पारे। उनले भने–संयन्त्रको खारेजी हुँदैन बरु आवश्यकता अनुसार विस्तार हुन सक्छ । खारेजीको माग निर्वाचन नहोस भन्ने योजनमा आएको छ। संविधानसभा निर्वाचनको मिति घोषणा भए मुलुक आफै निर्वाचनमा केन्द्रीत हुने भन्दै सापकोटाले सरकार मुल जिम्मेवारी निर्वाचन भन्दा पनि शासन गर्न तर्फ उद्यत बनेको आरोप लगाए।

साक्षात्कारमा नेपाली काग्रेसका नेता दिपकुमार उपाध्यायले नेकपा–माओवादीले चुनाव बहिस्कार गरेर जनताबाट दवाव सृजना गर्ने उल्लेख गर्दै नेपाली जनता निर्वाचनको पक्षमा भएकोले कुनै पनि हालतमा निर्वाचन हुने ठोकुवा गरे। निर्वाचनको सुनिश्चितताको लागि अन्तिम समयसम्म पनि प्रयास गर्ने जानकारी दिदै उनले सहमतिमा ल्याउन उच्चस्तरीय राजनीतिक समिति र मन्त्रीपरिषदको विस्तारको लागि समेत तयार रहेको बताए। उपाध्यायले भने–राजनीतिक रुपमा समस्या समाधान गरेर सम्पूर्ण दललाई चुनावमा भाग लिने बातावरण बनाउनु पर्छ । चारदलवीच सहमतिको क्रममा केही कमजोरी भएको रहेछ भन्ने त्यसलाई सच्याउन तयार हुनु पर्छ । निर्वाचन भए मात्रै देशले जित्छ।

नेकपा एमालेका नेता रघुजी पन्तले निर्वाचन नै मुलुककोलागि निकासको एकमात्र विकल्प भएकोले यो प्रक्रिया भाड्नेहरु राष्ट्रियता र लोकतन्त्रको पक्षधर नहुने दावी गर्दै निर्वाचन भाड्ने गरी आएका उच्चस्तरीय राजनीतिक समितिको खारेजी, गोलमेच सम्मेलन र वर्तमान सरकारको वर्खास्तको माग पुरा गर्नै नसक्ने स्पष्ट पारे। उनले भने–उच्चस्तरीय राजनीतिक समितिमा प्रतिनिधित्व गराउन सकिन्छ तर खारेजी हुन सक्दैन । गोलमेच सम्मेलन आउट डेटेड भईसक्यो मुलुक त्यता तिर जान सक्दैन । मतदाता नामावली संकलन भाड्ने काम सहिदैन । एमालेले त्यस विरुद्ध कार्यकर्ता परिचालन गर्छ। नेकपा एमाले जातीय संघीयता र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन प्रणालीको विपक्षमा रहेकोले त्यसमा धारणा मिल्ने नेपाली काग्रेस सहितका दलहरुसँग लोकतान्त्रिक शक्तिहरुको दुई तिहाई बहुमत ल्याउने गरी चुनावी तालमेल हुने स्पष्ट पार्दै पन्तले भने–एमालेको बहुमत र लोकतान्त्रिक शक्तिको दुई तिहाई बहुमत ल्याउने गरी तालमेल हुन्छ । लोकतान्त्रिक शक्तिको दुई तिहाई बहुमत नआए फेरि पनि संविधान बन्दैन।

चिन सहित भारतसँग मित्रवत सम्बन्ध बनाउन गरिने सबै खाले भ्रमण नेपालकै हितमा हुने भन्दै नेपालको परराष्ट्रनीति पनि सोही अनुसार परिमार्जन गर्नु पर्ने आवश्यकता औल्याए।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरद सिंह भण्डारीले आफूहरु निर्वाचनको विरोधी नभएको भन्दै निष्पक्ष र स्वतन्त्र निर्वाचनको लागि उपयूक्त वातावरण निर्माण गर्नु पर्ने बताए । उनले भने–हामि चुनावका पक्षधर हौ । लोकतन्त्रबादीको लागि निर्वाचन उत्सव हो । हामि निर्वाचनका विरोधी होइनौ तर अहिलेको प्रक्रियाप्रति हाम्रो आपत्ति छ। उनले सरकार जिम्मेवारी पूर्ण वार्तामा आएकोले सरकार निर्वाचनकै पक्षमा देखिएको स्पष्ट पार्दै आफूहरुले अघि सारेको माग संबोधन गरिए सार्थक निर्वाचन हुन सक्ने जिकिर गरे।

तराई मधेस लोकतान्त्रिक पार्टीका सह–महामन्त्री जितेन्द्र सोनलले लोकतन्त्रको लागि निर्वाचन आवश्यक भएको भन्दै कुनै दल नआउँदैमा निर्वाचन नरोकिने ठोकुवा गरे।यद्यपि उनले अन्तिम समयसम्म पनि नेकपा माओवादी सहितका निर्वाचनको विपक्षमा रहेका दलहरुलाई सहभागि गराउन प्रयत्न भने गर्नु पर्ने बताए । उनले भने–कुनै पनि दल बाहिर रहनु हुँदैन । नेकपा माओवादीलाई पनि सहमतिमा ल्याउनु पर्छ तर नआउँदैमा निर्वाचन भने रोकिदैन। किनकी निर्वाचन देश र लोकतन्त्रको आवश्यकता हो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस