Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

चुनाव र नयाँ संविधानको लागि एक जुट हुनुपर्छः नेम्वाङ

बद्री खनाल / एचकेनेपाल डट कम-
काठमाडौं, ७ बैशाख। संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनाव र नयाँ संविधानका लागि सबैले एकजुट हुनुपर्ने बताएका छन्।

नेपाल निर्माण सामग्री व्यापार संघको सातौं जिल्ला अधिवेशन उद्घाटन गर्दै नेम्वाङले भने -‘अहिलेको आवश्यकता भनेको लिक बाहिर गएको संवैधानिक प्रक्रियालाई लिकमा ल्याउनु हो। चालक बिना पनि रेल चल्न सक्छ तर लीक बिना चल्दैन।’

अधिवेशनमा ‘घर’ मासिकको विमोचन गर्दै नेम्वाङले भने जयनगरबाट जनकपुरसम्म चालकबिना रेल चलेको उदाहरण दिँदै ‘लिक बाहिर रेल गएकाले मुलुक अँध्यारो सुरुङमा फसिसकेको छ। अब मुलुकलाई त्यो सुरुङबाट निकाल्ने काम निर्वाचनले मात्र गर्न सक्छ।’ नेम्वाङले निर्माण सामग्री व्यवसायीले मुलुकको भौतिक विकास तथा पूर्वाधार निर्माणमा ठूलो योगदान गरिरहेकोमा प्रशंसा पनि ब्यक्त गरे।

‘घर’ मासिकको सफलताको कामना गर्दै नेम्वाङले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन सबै पक्षको योगदान हुनुपर्ने बताए। ‘घर’ मासिकको प्रधान सम्पादकमा नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा वरिष्ठ पत्रकार विष्णु निष्ठुरी रहेका छन्।

अधिवेशनलाई सम्बोधन गर्दै आन्तरिक राजश्व कार्यालयका महानिर्देशक टंकमणि शर्माले कर भ्याट लगायतका राजश्व बुझाउनमा निर्माण सामग्री व्यापारी समुदाय अग्रणी भएको बताए। ‘अहिले नेपालमा व्यवसायजन्य कर बुझाउन सबैभन्दा सचेत, सजग र अग्रणी निर्माण सामग्री व्यापारीहरु हुनुहुन्छ । तपाईहरुले राष्ट्र निर्माणमा ठूलो योगदान दिनुभएको छ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले निर्माण सामग्री व्यापारी र निर्माण व्यवसायीबीच निरन्तर सहकार्यको आवश्यकता रहेको औल्याए। निर्माण व्यापारीले उधारो कारोबार गर्न नहुनेमा उनको जोड थियो। अधिवेशनलाई सम्बोधन गर्दै नेपाल निर्माण सामग्री व्यापार महासंघका अध्यक्ष विनोदकेशरी उपाध्यायले मुलुकमा भ्याट प्रणाली सुरु भएको १६ वर्ष भएपनि व्यवसायीले भ्याट सम्बन्धमा व्यवहारिक शिक्षा नपाएको बताए। ‘भ्याट सम्बन्धमा व्यापारीलाई घरदैलोमा पुगेर व्यवहारिक शिक्षा दिने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो।

अधिवेशनलाई शुभकामना दिँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजनर्णिकारले आगामी चुनावमा कुनै पार्टीको झण्डा पछाडि नलाग्न आग्रह गरे। आगामी चुनावको मुख्य एजेण्डा आर्थिक हुनुपर्छ। आर्थिक एजेण्डालाई मुख्य प्राथमिकता नदिने पार्टीलाई व्यवसायीले मात्र होइन सम्पूर्ण जनताले बहिष्कार गर्नुपर्ने उनको सुझाब थियो।

अधिवेशन उद्घाटन समारोहका सभापति तथा निर्माण सामग्री व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले अधिवेशनपछि निर्माण सामग्री व्यापार क्षेत्रले नयाँ उचाइ लिने बताउँदै भने- ‘हामी निर्माण सामग्री व्यापारी मुलुकको विकास निर्माणमा समर्पित छौं, हामी कर तथा राजश्व इमानदारीपूर्वक तिरिरहेका छौं। हामीले काुनुन मिच्ने र छल्ने कुनै काम गरेका छैनौं त्यसैले हामी अनावश्यक रुपमा चन्दा दिँदैनौं। राजनीतिक दल र तिनका भ्रातृ संगठनले हामीसँग चन्दा माग्न आउने कष्ट नगर्नुहोला।’ अध्यक्ष रिजालले कर तिर्ने व्यवसायीलाई अन्य मुलुकमा झैं सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताए। ‘निश्चित समयसम्म निश्चित कर तिर्ने व्यवसायीलाई सामाजिक सुरक्षा भत्ता दिने हो भने अहिले जति कर उठिरहेछ, त्यसको दशौं गुणा धेरै कर उठ्छ। कर तिर्न व्यापारीहरु लाइन लागेर कर कार्यालय पुग्छन्।’

अधिवेशनमा विभिन्न महानुभावहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गर्ने कार्य पनि गरिएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by