डम्बर सुब्बा / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, १८ अप्रिल। रोजगारीको सिलसिलामा ईपीएस मार्फत ३ महिनाअघि कोरिया आई क्यङ्गिदोको ईछनस्थित मिरे कन्सल्ट सानअप नामक कम्पनीमा कार्यरत ३ जना नेपालीहरु कम्पनी कोरियन मेनेजरको अमानविय कुटपिट सहन नसकेर सोही क्षेत्रको स्थानीय प्रहरीको शरण पुगेका छन्।

प्रहरीको शरणमा गुहार माग्दै पुगेका सुनसरी धरान निवासी रामले भने- ‘३ महिनाअघि कोरिया आएपछि कम्पनीमा लगनशील र मेहेनत साथ काम गर्दथ्यौ तर त्यस कम्पनीको फे नामक मेनेजरले भाषा नबुझेको भन्दै सा-सानो गल्तीमा पनि झापड र लाती हिर्काउथे। हामीले ३ महिनासम्म लगातार सहेर बसौ। धेरै संघसंस्था, राजदूतावासहरुलाई सहयोग माग्यौ तर कसैकोबाट सहयोग पाएनौ।’ उनले रुदै थप भने- ‘यस्तै किसिमको दिनहु भई रहने शारिरीक, मानसिक तनावको कारण आत्माहत्या गर्ने सम्म सोच राखेका थियौ।’

त्यस्तै पोखरा निवासी माधवले भने- ‘कोरिया आएर काम गरेको पहिलो पल्ट हो, कामको बारेमा केही थाहा हुदैन, राम्रो तरिकाले सिकाउनुको सट्टा पहिला हिर्काउने त्यस पछि नराम्रो गाली गर्दे काम सिकाउने गर्दथ्यो। बिहान काम शुरु गरेपछि कहिले कसरी कुट्ने हुन् जहिले पनि मनमा चिन्ताले सताउंथ्यो। आज पनि हामी तीनै जनालाई लातै लातले हिर्काउदा जीउ ज्यानको सुरक्षाको लागि प्रहरीको शरणमा आएका हौं।’

राजदूतावासका श्रम सहचारी अनिल गुरुङलाई उद्धारका लागि अनुरोध गर्दा उनले आफूलाई पनि भाषाको समस्या भएकोले अन्य कुनै व्यक्तिलाई पठाउने आश्वासन दिए पनि कुनै व्यक्ति उद्धारको लागि नआएको पीडितले बताए।

ईछन प्रहरी कार्यलयका प्रहरी अधिकृत सीन ग्यङ छलले नेपाली मजदुरलाई कुटपिट गर्ने कम्पनी मेनेजर फे र कम्पनी मालिकलाई बोलाएर बयान लिई सकेका बताए। कम्पनी मेनेजरले कुटपिट गरेको बयानमा स्वीकार गरि सकेको प्रहरीले जनाएको छ। प्रहरीले पीडित ३ नेपाली मजदुरले चाहेको खण्डमा कुटपिट सम्बन्धी कानुन बमोजिम कानुनी प्रक्रिया अगाडि बढाउन सकिने बताएको छ।

कम्पनी मालिक रु जङ हयनले ३ महिना अघिदेखि नेपाली मजदुरहरुलाई कम्पनी मेनेजर फेले कुटपिट गर्दै आएको प्रहरी कार्यलयमा आएपछि मात्र थाहा पाएको बताएका छन्। यसअघि मेनेजरबाट कुटपिट गरेको सम्बन्धमा कुनै जानकारी नभएको उनले बताए। कुटपिट र अमानविय व्यवहार गरेको मेनेजर फेले पनि स्वीकार गरि सकेका बताउंदै उनले त्यसको लागि म भित्री आत्माबाट माफी माग्न चाहन्छु मालिक हयनले भने, ‘र नेपाली मजदुरहरुले जे चाहन्छ त्यो गर्न तयार छु।’

सोही स्थानमा दोभाषेको लागि आएका कोरियाका साना तथा सम्झौता उद्योग महासंघका कर्मचारी वाङ्दी लामाले भने- ‘म प्रहरी कार्यालयमा पुग्दा नेपाली मजदुर भाईहरु टुहुरा जस्तै बिजोग अवस्थामा थिए। उनीहरुको अवस्था देख्दा मन एकदमै दुख्यो।’ नेपाली राजदूतावासले समयमा नै उद्धार नगर्दा नेपाली मजदुरहरुले दुःख भोग्नु परेको लामाले बताए।

ईपीएस मार्फत कोरियामा आएका नेपाली मजदुरहरुमध्ये अहिलेसम्म ७ जना भन्दा बढी नेपालीहरुले आत्मा हत्या गरि सकेका छन्। नेपाल सरकारको सम्बनधीत निकाय नेपाली राजदूवासबाट नेपाली मजदुरहरु समस्या प्रतिको कर्तव्य विमुख, कार्य वेवास्ता, लापारवाही हुदै जाने हो भने थप नेपालीहरुले आत्मा हत्या नगर्न सकिदैन भन्न सकिदैन। यसको जिम्मेवार नेपाल सरकार र नेपाल सरकारको सम्बन्धीत निकाय नेपाली राजदूतावास हुने छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस