एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २ बैशाख। नेपाली काग्रेसका नेता डा रामशरण महतले अहिलेको प्रक्रियाको विरोधमा रहेका नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपाल सहमतिमा आए संविधानसभाको निर्वाचन सुनिश्चित गर्न मन्त्री परिषद विस्तार गर्न सकिने स्पष्ट पारेका छन्।

ram sharan mahatरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले असहमत दलहरुलाई निर्वाचनमा ल्याउन मन्त्री परिषद विस्तार सँगै उच्चस्तरीय राजनीतिक समितिलाई समेत विस्तार गर्नु पर्ने बताए। साक्षात्कारमा डा महतले भने–हाम्रो सभापतिले भनिसक्नु भएको छ चार दलको सेण्डिकेट ब्रेक गर्छु भनेर । त्यसैले उनीहरुसँग वार्ता गरेर सहमति कायम गरि निर्वाचनको बातावरण बनाउनु पर्छ । त्यसको लागि उच्चस्तरीय राजनीतिक समितिमा उनीहरुलाई ल्याउने देखि मन्त्री परिषदको विस्तार सम्म गर्न तयार हुनु पर्छ।

मतदाता नामावली संकलनमा रहेको जटिलता र नागरिकता वितरणको कारणले असारको पहिलो साता निर्वाचन हुन नसक्ने अवस्था आएको भन्दै अब कार्तिक अन्तिम वा मंसिर पहिलो सातामा निर्वाचन गर्नु पर्ने धारणा राखे। डा महतले २०७० सालभित्रै संविधानसभाबाट संविधान निर्माण गर्नु पर्ने भन्दै विगतमा सहमति हुन नसकेका विषयमा मात्र छलफल गरेर संविधान निर्माण गर्नु पर्ने बताए । उनले भने–विगतमा संविधान निर्माणको क्रममा भएका सहमति उल्टाउनु हुँदैन । अब पनि राजनीतिक विवाद गर्ने हो भने त्यो मुलुकका लागि घातक हुन्छ।

बहुजातीय र बहु सास्कृतिक पहिचान सहितको आर्थिक रुपमा सवल हुने गरी थोरै संघहरु निर्माण हुनु पर्नेमा जोड दिदै आवश्यकता र सामथ्र्यताको आधारमा कालान्तरमा गएर संघहरु थपिन सक्ने बताए । उनले भने–संविधान र संघीयता गतिशिल हुन्छन । भारतमा पनि प्रदेशहरु आवश्यकता अनुसार थप घट भएको उदाहरण छ । डा महतले संघीयतामा कुन जिल्ला कुन प्रदेशमा पर्ने भन्ने लगायतका विवाद परे त्यसलाई जनमत संग्रहबाट समेत सुल्झाउन सकिने धारणा राखे।

निर्वाचनको लागि अहिलेनै पार्टी चुनावी गठबन्धन निर्माणको विषयमा नसोचेको स्पष्ट पार्दै डा महतले चुनावको बेलामा थोरै सिटहरुमा तालमेल भने हुन सक्ने औल्याए ।
राजनीतिक विषयमा धेरै बहस भईसकेकोले अबको चुनावी एजेण्डा आर्थिक हुने भन्दै बजार उन्मुख र नियन्त्रित अर्थब्यवस्था नेपालमा उपयूक्त नहुने भएकोले बजार उन्मुख र सरकारको सामाजिक उत्तरदायित्व सहितको मिश्रित अर्थब्यवस्था लागु गर्नु पर्ने धारणा राखे।

साक्षात्कारमा नेकपा एमालेका सचिव शंकर पोख्रेलले निर्वाचनको बातावरण निर्माण गर्न अन्तरिम चुनावी मन्त्री परिषदले आफै प्रयास गर्नु पर्नेमा दलहरुको मुख ताकेको भन्दै आलोचना गरे। उनले भने–दलहरुको मुख ताकेर मात्रै हुँदैन । निर्वाचनको बातावरण सरकारले बनाउनु पर्छ । सरकारले आफ्नो सक्रियता र गतिशिलता अब बढाउनु पर्छ । अहिलेको गतिले निर्वाचनको बातावरण बन्दैन। यद्यपि, उनले अहिलेको सरकार निर्माणको विकल्प नै सबै भन्दा खराव विकल्प भएकोले यो भन्दा खराव विकल्प जान नसकिने भन्दै आफू अनुकुलको सरकार बनाएर निर्वाचन गर्ने कुरा मान्य नहुने स्पष्ट पारे।

नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपालले अहिलेको प्रक्रियामा स्वामित्व खोज्नु स्वभाविक भएको भन्दै त्यसलाई सरकारले वार्ताबाट पुरा गर्न सकिने मागलाई संबोधन गरेर निर्वाचनको बातावरण निर्माण गर्नु पर्ने पोख्रेलले बताए । उनले भने–त्यसपछि पनि कोही निहुँ खोजि रहन्छ भने उ निर्वाचन प्रक्रियाबाट छुट्ट । निर्वाचमा आउनेलाई स्पेश दिएर ल्याउनु पर्छ।

चार दलकै सहमतिका कारण असारमा निर्वाचन हुन नसकेको आरोप लगाउँदै सचिव पोख्रेलले भने–चार दलले आफैले गरेको गल्तीको कारणले निर्वाचन हुन नसकेको हो। हामी मनोगतबादको शिकार छौ। नागरिकता र मतदाता नामावलीको विषयमा मनोगत निर्णय गर्यौ, समय बुझ्न सकेनौ । रुष्ट दलहरुसँग सरकार र दलहरुले गर्नु पर्ने बार्ता अहिलेसम्म गर्न सकेनौ। उनले निर्वाचन क्षेत्र निर्धारणको विवाद पनि अहिलेनै टुङग्याउनु पर्नेमा जोड दिदै त्यो हुन नसके फेरि मंसिरमा पनि निर्वाचन हुन नसक्ने आशंका ब्यक्त गरे।

आगामी निर्वाचनमा एमाले र काग्रेसको गठबन्धन निर्माण नहुने स्पष्ट पार्दै सचिव पोख्रेलले – काग्रेस र एमालेले गठबन्धन बनाए। अरु निर्वाचनमा उठनु र निर्वाचन गर्नुको औचित्य रहँदैन। अरुले वाक ओभर दिए हुन्छ। त्यसैले अरुलाई निर्वाचनमा आउन नदिने गरेर निर्वाचनमा जानु हुँदैन। यद्यपि उनले संविधान निर्माणको लागि निर्वाचनको बेला र निर्वाचन पछि लोकतान्त्रिक शक्तिहरुवीच तालमेल हुन सक्ने सम्भावना औल्याए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस