बाल्टिमोर,अमेरिका,अप्रिल १२। बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को एकता प्रक्रियालाई थप सशक्त बनाउन भन्दै बाल्टिमोर नेपाली समुदायमा पहल भईरहेको छ । तर स्थानीय समाजका अधिकांश संघ,संस्थाले मार्च २४ को निर्वाचन पछिको परिस्थितिका कारण बानाको अहिलेको एक समूहको नेतृत्वलाई कुनै सामाजिक र नैतिक मान्यता नदिने भनेपछि बानाको औचित्य नै नरहेको टिप्पणी पनि बाल्टिमोरमा चल्न थालेको छ । सबैले छाडेपछि,स्थानीय संघ,संगठनको साथ नपाएपछि अब बाना के रहेछ र कसका लागि रहेछ भन्ने सबै प्रष्ट भयो,एक सदस्यले भने।

यसैबीच अहिलेको समूहले सिंगो समाजको भावनाको प्रतिनिधित्व गर्न नसकेको ठहर गर्दै निर्विरोध निर्वाचित भएकी बानाकी वरिष्ठ उपाध्यक्ष केमिका भण्डारी र चुनावी प्रक्रियाप्रति पूर्ण असहमति जनाउँदै कहीं,कतै सहभागी नभएका तर निर्वाचित घोषित कार्यकारी सदस्य मुकुन्द अधिकारीले बानाको अहिलेको कथित् नेतृत्वप्रति गम्भीर विमति रहेको भन्दै आफूहरुले यस्तो समूहको नेतृत्वलाई कुनै सहयोग नगर्ने प्रष्ट पारेका छन् । भण्डारी र अधिकारीले एक संयुक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्र्दै भनेका छन्,समाजका सबै पक्ष नसमेटिएको निर्वाचनबाट आएको भनिएको समूहले सिंगो नेपाली समाजको भावना र एकताको प्रतिनिधित्व गर्न सक्दैन । त्यही भनिएको निर्वाचनले उत्पन्न गरेको परिस्थितिले सिर्जना गरेको सामाजिक एकता भड्किएको आजको अवस्थामा त्यही समूहको नेतृत्वमा हामी रहिरहनुको कुनै औचित्य देखेनौं । सिंगो समाजलाई एकातिर छोडेर भएको कथित निर्वाचनले बाल्टिमोरको स्थानीय तहबाट कुनै नैतिक,सामाजिक र वैधानिक मान्यता प्राप्त गर्न नसकिरहेको अवस्थामा त्यस्तो समूहभित्र बसिरहनु नैतिक दृष्टिले पनि उचित रहेन।

उनीहरुले नेपाली समुदायको बृहत्तर हितका लागि सधैं अग्रपंक्तिमा रही क्रियाशील भईरहने प्रतिवद्धता पनि यसै विज्ञप्तीमार्फत् जाहेर गर्दछौं,भनेका छन् । भण्डारी र अधिकारीले जारी गरेको विज्ञप्तीको पूर्ण विवरण:

प्रेस विज्ञप्ती

बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को मार्च २४ मा भएको भनिएको निर्वाचनले बाल्टिमोरको सम्पूर्ण नेपाली समाजको सिंगो प्रतिनिधित्व गर्न नसकेको तथ्य जगजाहेर नै छ।

नेपाली समाजको बृहत्तर एवं सर्वाडि.गण हितका लागि बानाले समाजका सबै संघ,संगठन,समुदाय र यहाँ रहेका अधिकाँश नेपालीहरुलाई समेट्नुपर्नेमा त्यसो हुन नसकिरहेको यथार्थ विद्यमान छ । यस्तो परिस्थितिबाट अगाडि बढ्न खोजेको र समाजका सबै पक्ष नसमेटिएको निर्वाचनबाट आएको भनिएको समूहले सिंगो नेपाली समाजको भावना र एकताको प्रतिनिधित्व गर्न सक्दैन । त्यही भनिएको निर्वाचनले उत्पन्न गरेको परिस्थितिले सिर्जना गरेको सामाजिक एकता भड्किएको आजको अवस्थामा त्यही समूहको नेतृत्वमा हामी रहिरहनुको कुनै औचित्य देखेनौं । सिंगो समाजलाई एकातिर छोडेर भएको कथित निर्वाचनले बाल्टिमोरको स्थानीय तहबाट कुनै नैतिक,सामाजिक र वैधानिक मान्यता प्राप्त गर्न नसकिरहेको अवस्थामा त्यस्तो समूहभित्र बसिरहनु नैतिक दृृष्टिले पनि उचित रहेन । यस परिस्थितिमा बाल्टिमोरमा रहेका नेपालीहरुको बृहत एकता र सद्भाव कायमै राख्दै सबैलाई समेट्न सक्ने वातावरण निर्माण गर्नका लागि सम्बन्धित सबैबाट आवश्यक पहल होस् भन्ने आशयसहित वर्तमान नेतृत्व समूहबाट हामी दुईले आफूहरुलाई अलग राख्ने निर्णय गरेको यसै विज्ञप्तीमार्फत् सबैलाई जानकारी गराउँदछौं।

हामी यसपटकको निर्वाचनको कथित नौटंकीमा शुरुदेखि नै असहमत रही आएको यहाँ स्मरण गर्नु उचित ठानेका छौं । यद्यपि उम्मेदवारी मनोनयनदेखि आजका मितिसम्म हामीलाई नेतृत्वका लागि सहयोग गर्नुहुने आम बाल्टिमोरवासी नेपालीहरु र सम्बन्धित सबै संघ,संस्थाप्रति हामी सधैं कृतज्ञ रहनेछौं । तर प्रक्रियागत त्रुटी नसच्याई नौटंकीको रुपमा भएको कथित निर्वाचनप्रति हाम्रो कुनै संलग्नता र सहभागिता नरहेको पुनः प्रष्ट पार्दै त्यस्तो समूहको नेतृत्वमा हाम्रो नाम रहिरहनुको समेत औचित्य देखेनौं । समाजको बृहत्तर हित र एकताका लागि स्थानीय सबै नेपाली संघ,संस्थाको आग्रहलाई समेत मध्यनजर गर्दै हामीले यो निर्णय गरेका हौं।

हामी नेपाली समुदायको बृहत्तर हितका लागि सधैं अग्रपंक्तिमा रही क्रियाशील भईरहने प्रतिवद्धता पनि यसै विज्ञप्तीमार्फत् जाहेर गर्दछौं।

भवदीय

केमिका भण्डारी मुकुन्द अधिकारी
वरिष्ठ उपाध्यक्ष,बाना (निर्विरोध) कार्यकारी सदस्य,बाना (निर्वाचित)



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस