सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, २९ चैत्र। डोडेजो लियोनको गोलसंगै विजय यात्रा कायम राख्दै हङकङ नेपाली महासंघ हङकङ १५औं बुढासुबा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

तस्वीर भिडियोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

धरानमा जारी गोल्डकपमा लिग च्याम्पियन तथा साविक विजेता थ्री स्टार क्लवलाई शून्यका विरुद्ध १ गोलले पछि पार्र्दै हङकङ फाइनल प्रवेश गरेको हो। हङकङले उपाधिको लागी शनिबार हुने फाइनलमा नेपाल आर्मीको सामना गर्ने छ।

हङकङका लागि एक मात्र अन्तिम तथा निर्णायक गोल म्यान अफ दि म्याच डोडेजो लियोनले अतिरिक्त समयको १० औं मीनेटमा गरेका थिए। उनले जगजित श्रेष्ठको वान टच पासमा उत्कृष्ट गोल गरेका थिए। गोल्डकपमा दास्रो पटक सहभागी हङकङ फाइनल पुगेको पहिलो पटक हो। १४ औं गोल्डकपमा हङकङ सेमी फाइनलमा मनाङ मर्स्याङ्दीसंग पराजित हुदै घर फर्किएको थियो।

चार पटकको गोल्डकपको उपाधि हात पारिसकेको थ्री स्टार पहिलो पटक विना उपाधि घर फर्किएको हो। अधिकांश राष्ट्रिय खेलाडीसहित मैदानमा देखा परेका थ्री स्टारले मौकाको सदुपयोग गर्न सकेन भने भरपर्दा ३ खेलाडी विराज महर्जन, सन्तोष साहुखल र रोडेजको अनुपस्थितीका कारण गोल्डकपबाट पहिलो पटक विना उपाधि घर फर्किएको हो।

डिफेन्स लाईनमा सोचे अनुरुपको खेल नभएको तथा पाएका मौकाको सदुपयोग गर्न नसक्दा पराजित हुन परेको थ्री स्टारका प्रशिक्षक प्रदिप हुमागाईले बताए। साथै उनले लिग खेल्दा घाइते ३ खेलाडीको अनुपस्थितीले पनि हारको कारण वनेको प्रतिक्रिया दिए। सोचे अनुरुपको खेल खेलेको तथा आफ्नो टिमबाट हङकङ राष्ट्रिय टिमका खेलाडी टिटोलगायत खेलाडीको कारण जित हात परेको हङकङका प्रशिक्षक नारद राईले बताए। सोचे अनुरुप कै खेल भएको उनको प्रतिक्रिया थियो।

म्यान अफ दि म्याच डोडेजोले नगद ५ हजार पाए। साथै आयोजक धरान फुटवल क्लवले एनसिएल वर्ष खेलाडी घोषित थ्री स्टारका कप्तान सन्दीप राईलाई सम्मान गरेको छ। उनलाई क्लवका अध्यक्ष किशोर राईलगायतले अविर तथा खदा लगाई सम्मान गरेका थिए। राई सुनसरीको दुहवी निवासी हुन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस