एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २९ चैत। रेडियो अन्नपूर्णले आफ्नो १३ औं वार्षिकोत्सव वैशाख १२ गते सेतीबाढी पीडितलाई घर हस्तान्तरण गरी मनाउने भएको छ।

बार्षिकोत्सवकै अवसरमा सेतीबाढी पीडित स्मृति पार्क पनि तातोपानी—खारापानीमा निर्माण गर्न सोही दिन शिलान्यास गरिने बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठले खारापानी पर्यटकीय क्षेत्र भएकोले पार्कमा तारजाली, तातापानी कुण्ड, पिकनिक स्पटको साथै सेतीबाढी पीडितको सम्पूर्ण विवरण समावेश गरिने जानकारी दिए। बार्षिकोत्सवकै अवसरमा हरेक वर्ष प्रदान गरिने ‘पोखरा रत्न’ सम्मान, संगीत प्रतिभा सम्मान र स्टाफ अफ दी इयर लगायतका सम्मान पनि अर्पण गरिनेछ।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

गत वैशाख २३ गते सेती नदीमा आएको भिषण बाढीबाट पीडित भएकाहरुलाई राहत दिन रेडियोले स्थापना गरेको अन्नपूर्ण राहत कोर्षको ‘पुनर्वास कार्यक्रम’ अन्तर्गत साँदल र एवाङ्गका ९ घर परिवारका लागि निर्माण गरिएका घर हस्तान्तरण गर्न लागिएको श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार माछापुच्छ«े गाविस वडा नम्बर ९ को सानो खोवाङ्गमा निर्माण गरिएका घरमा विस्थापितहरु पूर्नस्थापित भइसकेका छन्।

स्थानीय पीडितहरुको सिफारिस, जिल्ला दैवी प्रकोप उद्धार समिति कास्कीको निर्णय, जिल्ला विकास समिति कास्कीको प्राविधिक समन्वय तथा अन्नपूर्ण राहत कोषको सहयोगमा घर निर्माण गरिएको हो। बाढीबाट ठूलो जनधनको क्षतिभएपछि पीडित परिवारको राहतका लागि रेडियोले बाढी आएको दिन २५ हजार १ रुपैयाँ राखी ‘अन्नपूर्ण राहत कोष’ संचालन गरेको थियो। सो कोषमा स्रोता शुभेच्छुकहरुबाट ६४ लाख ७६ हजार ३ सय ४५ रुपैयाँ संकलन भएको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार हालसम्म १२ औं चरणको राहत वितरण गरिसकिएको छ। अन्नपूर्ण राहत कोषबाट अहिलेसम्ममा ४३ लाख ४१ हजार १ सय ४२ रुपैयाँ राहत स्वरुप वितरण गरिसकेको र व्याजसहित अव २२ लाख ६४ हजार ३९ बाँकी रहेको छ। बैंकबाट व्याज १ लाख २८ हजार ९ सय ३६ रुपैयाँ प्राप्त भएको श्रेष्ठले जानकारी दिए। स्थानीबासीको माग अनुसार बाँकी रकमबाट स्मृति पार्क निर्माणमा सहयोग गरिने श्रेष्ठले बताए। यो प्रयासले ‘आवाजविहीन जनताको आवाज’ बन्ने र पीडित ग्रामीण भेगका जनताको आहत मनमा राहत बन्ने अभियानलाई टेवा पु¥याउनेछ भन्ने विश्वास रेडियोले लिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै सार्दीखोला सम्पर्क समिति पोखराका अध्यक्ष वमबहादुर गुरुङले सार्दीखोलावासी अन्नपूर्णको कार्यले निकै हर्षित भएको बताउदै तीन पटकसम्म प्राधानमन्त्रीसँग भेट गर्दा समेत सेतीबाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकारले चासो नदेखाएकोमा गुनासो गरे। उनले सार्दीखोला तातोपानी खारापानी क्षेत्रमा स्मृति पार्क बनाउने कुराले खुशी लागेको बताउँदै तातोपानी कुण्ड निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष वद्रीविनोद प्रतिकले सरकारले गर्नुपर्ने काम एक रेडियोले गरेकोले लालपुर्जा दिलाउन सरकारले नै पहल गर्नु पर्ने बताए। स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले राज्यको सहभागिता विना नै रेडियोले सामाजिक उत्तरदायित्व बोध गर्दै एक उदाहरणीय कार्य गरेको बताए। अग्रजपत्रकार नारायण कार्कीले संचार माध्यमहरुले चाहेमा काम पनि गरेर देखाउन सक्छन् भन्ने एक सकरात्मक सन्देश रेडियोले दिन सकेको बताए। अग्रज पत्रकार पुण्यप्रसाद पौडेलले रेडियोले गरेको कार्य एक रोल मोडल कार्य भएको बताए भने रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले सेतिबाढी प्रभावीतहरुलाई अब लालपुर्जा दिलाउन सरकारले ध्यान दिनुपर्ने बताए। रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले स्वागत गर्दै रेडियो अन्नपूर्ण सँधै सामाजिक अभियानमा जुटिरहने बताइन्। रेडियोका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रमको संचालन रेडियोका समाचार संयोजक आरजु विष्ट शल्यानीले गरेका थिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस