एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १७ चैत्र। युवा पुस्तालाई रक्तदान गर्नुपर्दछ भन्ने भावनाको विकास र नयाँ रक्तदाताको खोजी अभियानमा सघाउन रेडियो अन्नपूर्णले प्रत्येक बर्ष गर्दै आएको रक्तदान कार्यक्रममा यसबर्ष नयाँ रक्तदाता उत्साहजनक रुपमा सहभागि भए। शनिबार भएको १२ औं संष्करणको रक्तदानमा ३ सय १७ यूनिट रगत संकलन भएको छ।

रक्तदानमा १ सय ६० जना नयाँ रक्तदाता सहभागि भएको संयोजक आरजु विष्ट सल्यानीले जानकारी दिनुभयो। उहाँका अनुसार रक्तदानमा ६८ महिला र २ सय ४९ जना पुरुषले रक्तदान गरेका छन्। ‘स्वस्थताको लागि रक्तदान’ भन्ने मुल मन्त्रका साथ आयोजित रक्तदानमा ३ सय ५० जनाले नाम दर्ता गराएपनि स्वास्थ्यको कारण रक्तदान गर्न नपाएकाहरु निराश हुँदै फर्केका थिए।


रक्तदान गर्दै सिपोरा गुरुङ। तस्वीरहरुः सुदर्शन रञ्जित र उमेश पुन / एचकेनेपाल डट कम

रक्तदानमा पोखरा घुम्न आएका अमेरिकाका डेभिडले पनि रक्तदान गर्नु भएको छ। रेडियोको १३ औं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमको मिस नेपाल २०६९ की बेष्ट ट्यालेण्ट टाईटलकी उपाधि विजेता तथा राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरुङले रक्तदान गरेर उद्घाटन गर्नुभयो। उहाँले पहिलो पटक रक्तदान गर्नु भएको हो। रक्तदान जीवनदान भएकोले यसप्रति युवाले चासो राख्नुपर्ने गुरुङले बताउनु भयो। गुरुङलाई रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले ब्लड व्याग हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष रामप्रसाद ज्ञवालीले रेडियोले रक्तदानमा नयाँ पुस्तामा उत्पेरणा जगाउन महत्वपुर्ण भूमिका खेलेकोमा धन्यवाद दिनुभयो। रक्तदान कार्यक्रमबाट धेरै रगत संकलन गर्नु भन्दा पनि नयाँ पुस्तालाई रक्तदान गर्नुपर्दछ भन्ने भावनाको विकास गर्न रेडियोले बर्षेनी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताउनुभयो।

रक्तदानमा दृष्टीविहिनहरु विष्णु खनाल, सम्राट गौतम, सावित्री भट्टराइ, अर्पण कोइराला, केशवराज सुवेदीले पनि रक्तदान गर्नु भएको थियो । गायक तथा संगीतकार जय परियार, इनोक तामाङ, करण तामाङ, मिस नेवाः सुमना बज्राचार्य, सेकेण्ड रनर अप प्रजु प्रधान, जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी केदार रिजाल, डिएसपी सन्तोष खड्का, लगायत नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरीले रक्तदान गरेका थिए।

कार्यक्रममा खेलकुद, कला, साहित्य, खेलकुद, कला साहित्य, आमा समूह, टोल विकास संस्था, क्लब लगायत विभिन्न संघ संस्थाको सहभागिता थियो। रेडियो अन्नपूर्ण यसक्षेत्रमा सबैभन्दा धेरै रगत संकलन गर्ने सँस्थाको रुपमा स्थापित भएको छ भने धेरै युनिट रगत सँकलन गरे बापत नेपाल रेडक्रस सोसाईटीले रेडियोलाई यसअघि नै सम्मान गरिसकेको छ । कार्यक्रमको अध्यक्षता गर्नुभएका रेडियोका प्रवन्ध निर्देशक सुनयना पाखिलेले रेडियो स्थापानाकाल देखि नै रक्तदान, सरसफाई, आर्थिक सहयोग लगायतका सामाजिक काममा गरिरहेको बताउँदै भविष्यमा पनि रेडियोले गर्ने सामाजिक काममा श्रोता शुभेच्छुक, संघ, संस्थाहरुको सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस