एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ चैत । ऊर्जा तथा सिंचाई मन्त्री उमाकान्त झाले सरकार असारको पहिलो साता संविधानसभा चुनावको मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटिरहेको बताएका छन्।

रिपोर्टर्स क्लव नेपालद्वारा मंगलवार आयोजित होलीको शुभकामना आदानप्रदान तथा साक्षात्कारमा मन्त्री झाले भने– ‘असारको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणा गर्न हामीले निर्वाचन आयोगसंग परामर्श गरिरहेका छौं। आयोगले पनि निर्वाचनको कार्यतालिका बनाएको छ। त्यसलाई मिट गर्नेगरी चुनावको मिति घोषणा हुन्छ।’

मन्त्री झाले आगामी मन्त्रिपरिषद्को बैठकमा यस बारेमा निर्णय गरिने खुलासा गरे। उनले भने– ‘चुनाव असार ४, ५, ६ र ७ गतेभित्र हुन्छ। हामी देशभरि संविधानसभाको निर्वाचन एकैदिनमा गर्ने तयारीमा छौं। संविधानसभा एकै दिन हुनसक्छ भन्ने निष्कर्षमा सरकार पुगेको छ।’ साक्षात्कारमा ऊर्जा मन्त्री झाले सरकारले निर्वाचन आयोगसग छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिंदै भने, ‘सबै राजनीतिक दलका नेताहरु चुनावतिर लाग्नुस्, हामी असारको पहिलो साता स्वतन्त्र, निष्पक्षरहित र धाँधलीरहित चुनाव गराएर निर्वाचन सरकारलाई सत्ता हस्तान्तरण गर्न तयार छौं।’

चुनावी सरकार भएकोले असारको पहिलो साता चुनाव गराउनु नै यसको प्रमुख दायित्व भएको स्पष्ट पार्दै मन्त्री झाले भने, ‘हामी त्यसकै लागि रातदिन नभनी लागिपरेका छौं। अब सबै राजनीतिक दलहरु कुनै शंका, उपशंका र अविश्वास नगरी चुनावमा जानुपर्छ। ’ उनले निर्वाचनको बातावरण निर्माण गर्न सरकारले सबै राजनीतिक दलहरुसंग छलफल गर्ने जानकारी दिए। ‘चुनावमा भाग लिन्नौं भन्ने दलहरुसंग पनि छिट्टै परामर्श गर्र्छौं। उहाँहरुलाई पनि चुनावमा सहभागी गराउंछौं’, मन्त्री झाले भने, ‘नेकपा–माओवादीसंग पनि छलफल गरी उहांहरुलाई चुनावमा सहभागी गराउंछौं।’



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Election

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस