एचकेनेपाल डट कम संवाददाता-
भद्रपुर झापा, १३ चैत्र। नेपाली साहित्यकी नारीचुली राधिका रायाको ८२ वर्षको उमेरमा सोमवार भारतको सिलिगुडीस्थित गेटवेल अस्पतालमा निधन भएको छ।

साहित्यकार नरेन्द्रराज प्रसाईका अनुसार उनी लामो समयदेखि आन्द्राको क्यान्सरले पीडित थिइन्। हिजै भद्रपुरको मेची नदीमा उनको दाहसंस्कार गरिएको छ। उनकी छोरी रवीना लेप्चाले दागवत्ती दिएकी थिइन्।

रायाको विवाह ३८ वर्षको उमेरमा कप्तान बुद्धिमान लेप्चासँग भारतमा भएको थियो। रायाका कविता, कथा, उपन्यास, निबन्ध, एकाङ्की गरी छ वटा कृति नेपाली भाषामा प्रकाशित छन्। उनकै सम्पादनमा ‘उषा’नामक साहित्यिक पत्रिका मलेसियाबाट प्रकाशन भएको थियो। युवाकालमा उनले रङ्गमञ्चको नायिकाका रूपमा पनि आफूलाई परिचित गराइन्।

‘शारदा’ पत्रिकामा लेखेर प्रसिद्धि कमाएकी राया २००६ सालदेखि राणा शासनको विरोधको मोर्चामा झापामा सक्रिय थिइन्। प्रधानमन्त्री भएपछि मातृकाप्रसाद कोइरालाले उनलाई एउटा विशेष समारोहमा सम्मान गरेका थिए।

झापामा उनी राजनैतिक र सामाजसेवीका रूपमा परिचित थिइन्। रायाले झापाको भद्रपुर माध्यमिक विद्यालय, धनकुटाको गोकुण्डेश्वर माध्यमिक विद्यालय, कोलकाता, मलेसिया र हङकङको सैनिक स्कुलहरूमा चालीस वर्षसम्म पढाएकी थिइन्।

‘महाकवि देवकोटा शताब्दी सम्मान’बाट सम्मानित राया ‘जुही’ लगायत नेपाल भारतका कैयौ ठाँउबाट पुरस्कृत र सम्मानित थिइन्। जुही त्रैमासिकको ४५औं अङ्कमा राधिका राया विशेषाङ्क समेत प्रकाशित भएको थियो। उनी त्रिमूर्ति निकेतनबाट गठित प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनकी सदस्य थिइन्। रायाको निधनमा त्रिमूर्ति निकेतन र नइ प्रकाशनले गहिरो शोक व्यक्त गरेको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस