एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ७ चैत । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले यो साताभित्रमै निर्वाचनको आयोगलाई पूर्णता दिएर संविधानसभाको नयाँ निर्वाचनको मिति घोषणा गरिने जानकारी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने–संबैधानिक परिषद गठन भईसकेकोले अब बैठक बसेर यो साताभित्रनै निर्वाचन आयोगलाई पूर्णता दिई नयाँ निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छौं।

साक्षात्कारमा पौडेलले आफुहरु छिटो भन्दा छिटो निर्वाचन गरेर दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न आतुर भएको स्पष्ट पार्दै नियुक्तिमै ढिला गरेर सरकारले आफ्नो आयू लम्ब्याउने प्रयत्न नगर्ने बताए। दलहरुको सहमतिमा बनेको बर्तमान सरकारलाई निर्दलीय सरकार भनेर आलोचना गर्दा आफूहरु दुखि हुने गरेको उल्लेख गर्दै अहिलेको सरकार दलीय सहमति र बाध्यताको उपज भएकोले यसलाई केवल निकास रुपमा मात्र बुझ्न पनि उनले आग्रह गरे। उच्च स्तरीय राजनीतिक संयन्त्र र सरकारवीच कुनै मतभेद नरहेको उल्लेख गर्दै सन्चारमन्त्री पौडेलले सरकार उच्चस्तरीय संयन्त्रको सहकार्य र सुझावकै आधारमा अघि बढ्ने समेत साक्षात्कारमा स्पष्ट पारे।

अहिलेको सरकार निर्वाचनको मिसनमा बनेकोले यो सरकारबाट धेरै अपेक्षा नगर्न आग्रह गर्दै उनले आफूहरु निर्वाचन सम्पन्न गर्ने गृहकार्यमा जुटिसकेको जानकारी दिए। उनले भने–ठूला र दिर्घकालिन महत्वका कुनै पनि निर्णय गर्ने मनस्थितिमा छैनौ। अहिलेको प्रक्रियाको विरोधमा सडकमा रहेको दलहरुलाई सहमतिमा ल्याएर निर्वाचन गराउनु सरकारसहित सबैको दायित्व भएको उल्लेख गर्दै पौडेलले यसको लागि सरकारले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे।

संबैधानिक परिषदमा अहिलेसम्म बाहिर आए जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयूक्तमा लोकमान सिंह कार्कीको नाम सिफारिस भए नआएको जानकारी समेत उनले दिएका थिए। मन्त्रालयका कुनै पनि निर्णय २४ घण्टाभित्र वेभसाईटमा राख्ने निर्णयलाई अहिलेको सरकारलाई मिडिया मैत्रि सरकारको भएको उदाहरणको रुपमा प्रस्तुत गर्दै पौडेलले सञ्चारक्षेत्रका केही कानून र ब्यवस्थामा सुधार गर्न आवश्यक भए सुझाव दिन सञ्चारकर्मीसँग आग्रह गरे।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस