सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २५ फाल्गुन । पूर्वको सुन्दर नगरीको रुपमा परिचित धरानमा यस बर्षको होली पर्व तुलनात्मक रुपमा धरानमा उल्लासमय रुपमा सकिएको छ।
बुधवार र विहीवार गरी दुर्इ दिनसम्म खेलिएको होली पर्व शान्तिपूर्ण रुपमा रहेको प्रहरीको भनाई छ।
बुधवारको तुलनामा विहीवार धरानमा होली खेल्नेको संख्या अत्याधिक रहेका थिए।
विहानैदेखि धरानका युवा युवतीहरु, केटाकेटी, बृद्ध बृद्धाहरु चौक चौक गल्ली गल्लीमा जम्मा भएर एक आपसमा रंग दली होली पर्व मनाए।
अन्य ठाउको भन्दा धरानको होली यस पटक विशेष रहेको थियो। विशेष गरी अनामको प्रस्तुतीसँगै विभिन्न किसिमका अविरका रंगदेखि लिएर स्टिल रंग र मोविल लगाएर होली खेलेको दृश्यसमेत देख्न सकिन्थ्यो।
होली पर्वमा कुनै अप्रिय घटना हुन नपाओस् भन्ने उद्धेश्यले धरान प्रहरीले विशेष निगरानी राखेको थियो। इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी राजेन्द्र विष्टले होलीमा विशेष गरी बिना हेलमेट तीनजना चढ्ने, बटुवालाई जबरजस्ती रंग दल्ने लगायतका कार्यलाई नियन्त्रण गर्न विशेष सुरक्षा टोली खटाइएको कारण अप्रिय घटना घट्ना नपाएको बताए।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख मुकुन्द रिजालले सवारी चालकका लापारबाहीकाकारण बढी दुर्घटना हुने भएकोले त्यसलाई नियन्त्रण गर्न चौक चौक गल्ली गल्लीमा ट्राफिक प्रहरी खटाइएको बताए। रिजालले बिना हेल्मेट र तीनजना सवार मोटरसाइकल करीब २० जनालाई नियन्त्रणमा लिएको समेत जानकारी दिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस