एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ३ चैत । पूर्व प्रमुख निर्वाचन आयूक्त र आयूक्तहरुले असारको पहिलो भित्रमा संविधानसभाको निर्वाचन गर्न सम्भव रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा दलहरुले बास्तवमै निर्वाचन चाहेको हो भने निर्वाचन गराउन कुनै अप्ठ्यारो नरहेको स्पष्ट पारे।

साक्षात्कारमा निवर्तमान निर्वाचन आयूक्त अयोधि प्रसाद यादवले यसअघि सरकारले घोषणा गरेको मंसिर र बैशाखको निर्वाचनको लागि निर्वाचन आयोगले तयारी गरिरहेकोले असार पहिलो सातभित्र निर्वाचन सम्भव रहेको बताए। उनले भने– निर्वाचन आयोग तयार नै छ। हामीले मंसिरमै निर्वाचन हुन्छ भनेर तयारी गरेका थियौ। त्यो मितिमा हुन सकेन । त्यसपछि सरकारले बैशाखमा भन्यो, त्यसको लागि पनि हामिले तयारी जारी राखेका थियौं। त्यसैले पनि असारमा पहिलो साता गर्न सकिन्छ। यद्यपि उनले १० देखि ५ बजे सम्मको काम नभनी युद्ध स्तरमा दिनरात काम गर्नु पर्ने, दलहरुको सहयोगको आवश्यकता औल्याए।

यादवले तत्काल निर्वाचन आयोगमा प्रमुख आयूक्त र आयूक्तहरु नियूक्त गर्नु पर्नेमा जोड दिदै त्यसपछि मतदाता नामावली संकलन, मतपत्र छपाई, अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई निम्तो गर्ने काम लाई अगाडि बढाउनु पर्ने बताए। निर्वाचनको विरोधमा कुनै पनि दल नरहेको, केवल सरकार गठनको प्रक्रियामा मात्रै मतभेद रहेकोले दलहरुको सहयोग प्राप्त गर्न खासै अप्ठ्यारो नभएको दावी गर्दै राजनीतिक द्धन्द समाधान गर्न तत्काल लाग्न दलहरुलाई सुझाव दिए।

छुटेका मतदाताहरुलाई सूचीमा समावेश गर्न सकिने भन्दै निर्वाचनको लागि मतदान केन्द्र बढाउनु पर्ने उनको भनाई थियो। यादवले विदेशमा रहेका नेपालीहरुलाई यस वर्षकै निर्वाचनमा मताधिकार दिन सक्ने अवस्था नभए पनि उनीहरुलई मताधिकार दिने विषयमा आयोगले अध्ययन गरिसकेको तर पदाधिकारी नहुँदा ठोस काम अघि बढ्न नसकेको जानकारी दिए।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिका संयोजक समेत रहेका पूर्व निर्वाचन आयूक्त सुर्य प्रसाद श्रेष्ठले दलहरुकै सहमतिमा सरकार गठन भएकोले असारमा निर्वाचन गर्न सम्भव रहेको बताए। निर्वाचनको लागि तयारी आवश्यक भएको भन्दै दलहरुले निर्वाचन चाहेको हो भने जसरी पनि निर्वाचन हुने ठोकुवा उनले गरे। यद्यपि, उनले विरोधमा भएका दलहरुलाई साथ लिनु पर्ने, तत्कालै निर्वाचन आयोगमा पदाधिकारी नियूक्ती गर्नु पर्ने आवश्यकता औल्याए। निर्वाचनमा सरकारको भूमिका सुरक्षाको मात्रै हुने भएकोले निर्वाचन गर्ने प्रमुख निकाय निर्वाचन आयोगलाई पूर्ण अधिकार दिनु पर्ने सुझाव दिए।

केही दलहरु विरोधमा रहेकोले निर्वाचनको लागि अहिले सबैभन्दा ठूलो चुनौती भनेको सुरक्षा भएको उल्लेख गर्दै उनले चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले सर्वोच्च अदालत छाडिदिए पूर्ण रुपमा निर्वाचनको माहौल बन्ने धारणा पनि राखे। निर्वाचनको सबैभन्दा महत्वपूर्ण कुरा कोही पनि बालिग मताधिकार नछुटुन भन्नेमा निर्वाचन आयोग सजग हुनु पर्ने आवश्यकता औल्याए पनि श्रेष्ठले विदेशमा रहेका मतदातालाई मतदानको अवसर उपलब्ध गराउन अहिले सम्भव नरहेको स्पष्ट पारे।

पूर्व निर्वाचन आयूक्त प्रोफेसर वीरेन्द्र मिश्रले दलहरुले चाहे घोषित मितिमै निर्वाचन गर्न सम्भव रहेको बताए। आफूहरुले माओवादी द्धन्दकालको कठिन अवस्थामा समेत निर्वाचन गराएको स्मरण गर्दै अहिले मुलुकमा द्धन्द नभएको र दलहरु निर्वाचनको पक्षमा रहेको बेला निर्वाचन नहुने कुनै कारण नहुने तर्क उनले गरे। मिश्रले सरकारको काम निर्वाचनको लागि शान्ति सुरक्षा कायम गर्ने काम मात्र भएकोले दलहरुले चाहे निर्वाचन गर्न कुनै बेला पनि सम्भव रहेको बताए। उनले निर्वाचन आयोग मतदाताको अधिकारप्रति सचेत नरहेको आरोप लगाउँदै नागरिकता नपाएकालाई पनि मतदानको अवसर मिलाउनु पर्ने सुझाव दिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस