एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ३ चैत। बेलायती कारागारमा ८ सातासम्म रहेका नेपाली सेनाका महासेनानी कुमार लामा रिहा भएका छन्। उनी १० हजार पाउण्ड धरौटी तिरेर सशर्त रिहा भएका हुन्। धरौटीमा रिहा भएपनि मुद्दाको टुंगो नलागेसम्म उनले बेलायत छाड्न पाउने छैनन्। दुई साताअघि इसेक्सस्थित चेल्म्स्फोर्ड क्राउन कोर्टले सशर्त धरौटीमा रिहा गर्न आदेश दिएपनि कानुनी प्रक्रिया पूरा नहुंदा उनको रिहाईमा ढिलाई भएको थियो।

लामालाई धरौटीमा रिहा गर्न उनका वकिल जेम्स लुइसले अदालतमा आवेदन दिएका थिए। आवदेनमाथि सुनुवाई हुंदा वादीतर्फ कोही उपस्थित नहुंदा लामाको एकतर्फी सुनुवाई भएको थियो। लामाको रिहाईको लागि १० हजार पाउण्डको धरौटी र बेलायत नछोड्ने ग्यारेण्टी नेपाल सरकारले लिएको छ।

द्वन्द्धकालमा गैरकानूनी हिरासतमा लिएर यातना दिएको आरोप लागेका ४६ वर्षीय लामा जनवरी ४ तारिख बेलायतको सेक्सस शहरबाट प्रक्राउ परेका थिए। सन् २००५ मा गोरुसिंगे व्यारेकमा रहँदा जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको आरोप लामामाथि लागेको छ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिशनअन्तर्गत सुडानमा कार्यरत लामा बेलायतमा रहंदै आएकी श्रीमतिलाई भेट्न सेक्सस आएको बेला पक्राउ परेका थिए। युद्ध अपराध सम्बन्धी बेलायती कानुन (क्रिमिनल जस्टिक ऐक्ट) अनुसार उनी पक्राउ परेका थिए। यो कानुन अनुसार संसारका जुनसुकै देशमा अपराध गरेको भएपनि बेलायती भूमिमा पक्राउ गर्ने अधिकार बेलायती सरकारलाई छ।

लामाको प्लि केस म्यानेजमेन्ट हेयरिङ आगामी १० मेमा हुनेछ भने उनको अन्तिम सुनुवाइ आगामी ५ जुनमा हुने जनाइएको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस