मिलन तमु / एचकेनेपाल डट कम-
फार्नबरो बेलायत, ११ मार्च। हेल्प नेपाल नेटवर्कले स्थापना गर्न लागेको दश करोड रुपैयाँको अक्षयकोषको सहयोगार्थ आउंदो अगष्ट १८ तारिख आइतबारका दिन अल्डरशटमा एक बृहत् कार्यक्रम आयोजना गर्न भएको छ।
तस्वीरः मिलन तमु / एचकेनेपाल डट कम
कार्यक्रमको तयारीबारे छलफल गर्न आइतबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा बसेको हेल्प नेपाल नेटवर्क युके शाखाको बैठकले कम्तीमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय गरेकोछ। उक्त अवसरमा बोल्दै हेल्प नेपाल नेटवर्क युके शाखाका सल्लाहकार तथा अगष्ट १८ को सहयोग संकलन कार्यक्रमका मुख्य संयोजक सूर्य गुरुङले कार्यक्रमका लागि अल्डरशटस्थित दि कनाट स्कुलको हल बुक भैसकेको र झण्डै तीस व्यवसायी तथा महानुभावहरुले उक्त कार्यक्रममा प्रायोजकको रुपमा सहभागी हुन सहर्ष स्वीकृति दिएको जानकारी दिनुभयो।
गुरुङले कार्यक्रम आयोजना संबन्धी विस्तृत जानकारी आउंदो मे महिनामा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पनि बताउनुभयो। सल्लाहकार गुरुङले हेल्प नेपाल नेटवर्कको दश करोड रुपैयाँको अक्षयकोषका लागि मन खोलेर सहयोग गर्न बेलायतस्थित नेपाली संघसंस्था तथा महानुभावहरुलाई हार्दिक आह्वान पनि गर्नुभयो।
आउंदो अगष्ट १८ तारिख आइतबारका दिन हुन गैरहेको बुहत् सहयोग संकलन कार्यक्रमको मूल आयोजक समितिमा बसेर काम गर्न इच्छुक युवा, विद्यार्थी तथा महानुभावहरुले कार्यक्रमका मूल संयोजक सूर्य गुरुङलाई ०७७९५५१८२२८ मा फोन गरेर वा gurungsurya@gmail.com मा पत्र पठाएर सम्पर्क गर्न पनि हेल्प नेपालले आह्वान गरेको छ।
कार्यक्रममा बोल्दै हेल्प नेपाल नेटवर्क युके शाखाका अर्का सल्लाहकार चिरन्जीवी ढकालले चौध बर्षअघि बेलायतमै स्थापित हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालिन सहायता जस्ता क्षेत्रमा दर्जनौं आयोजनाहरु सम्पन्न गरिसकेको र चाहिएको बेला सहयोग गर्न रकमको अभाव नहोस् भन्ने उद्देश्यले अक्षयकोष खडा गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको बताउनुभयो।
दश करोड रुपैयाँस्थापना गर्ने अभियानमा अहिलेसम्म संसारका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीहरुबाट झण्डै सवा करोड रुपियां संकलन भैसकेको हेल्प नेपाल नेटवर्कले जनाएको छ। संकलित रकम शतप्रतिशत तोकिएको आयोजनामा खर्च हुने र प्रशासनिक काममा कत्तिपनि खर्च नहुनेभएकाले ढुक्क भएर सहयोग उपलब्ध गराउन पनि नेटवर्कले आग्रह गरेको छ। काठमाडौंमा रहेको संस्थाको कार्यालयको खर्च यसअघि स्थापना गरिएको हेल्प नेपाल प्रशासनिक कोषको व्याजबाट चल्ने गरेको छ। www.helpnepal.net मा गएर हेल्प नेपालका गतिविधिहरुबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b