एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १५ फागुन। महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी आज नेपालभर मनाइँदैछ।

हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन्। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वणिर्त छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ।

शिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिमा भक्तजनहरुको ठूलो घुँइचो लागेको छ। शुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकुट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ।

आज एकाबिहानैदेखि नै पशुपतिका ढोका दर्शनका लागि खोलिएका छन्। पशुपति क्षेत्रलाई झकिझकाउ पारी सजाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस