Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्याकेजमा सहमति नबने पनि समायोजन प्रक्रिया टुङ्गिन्छः प्रचण्ड

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, संविधान र सहमतिको सरकारको विषयमा प्याकेजमै सहमति नबने पनि सेना समायोजन प्रक्रिया सात बुँदे सहमति अनुसार नै टुङग्याउने दृढता ब्यक्त गरेका छन्।

जेठ १४ गतेभित्रै शान्ति र लोकतान्त्रिक संविधान निर्माण कार्य पुरा गर्न दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अर्न्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भने-प्याकेजमै सहमति जुटाउन छलफल गर्दै समायोजन प्रक्रियालाई सहमति अघि नै टुङग्याउँछौ। हामी प्रक्रियामा अगाडि बढ्छौ । अरु विषयले समायोजन प्रक्रिया रोकिदैन।

अध्यक्ष प्रचण्डले सात बुँदे सहमति कार्यान्वयनको विषयमै दलहरु वीच छलफल भईरहेको जानकारी दिदै समायोजनको दर्जा निर्धारणमा सात बुँदेले प्रिन्सिपल दिएकोले त्यसैको आधारमा समायोजन हुने स्पष्ट पारे। उनले केही सामान्य प्राविधिक विषयमा सहमति हुना साथ समायोजन प्रक्रिया अघि बढ्ने भन्दै सो विषयमा विहीबार काग्रेस र मधेसी मोर्चासँग छलफल गरेको र मोर्चासँग सहमति बनिसकेको जानकारी पनि दिए।

प्रचण्डले काग्रेसका नेताहरुसँगको छलफलमा सहमति नजिक पुगेको भन्दै एकाध हप्ताभित्र सेनासमायोजन प्रक्रिया टुङगिने विश्वास ब्यक्त गरे। उनले भने-मधेसी मोर्चासँग भएको बार्तामा पनि शान्ति र संविधान प्रक्रियालाई जेठ १४ गतेभित्र टुङग्याउने विषयमा सहमति बनिसकेको छ। दलहरुसँग यसको विकल्प छैन।

सेना समायोजन भन्दा पनि राज्यको पुनर्संरचना र संघीयताको आधारमा बढी जटिल रहेको दावी गर्दै अध्यक्ष प्रचण्डले शासकीय स्वरुपमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री रहने मिश्रति शासन प्रणालीमा सहमतिको नजिक रहेको बताए । उनले भने-दलहरु बसेर छलफल गरेपछि शासकीय स्वरुपमा सहमति बन्छ।

उनले न्यायप्रणाली, नागरिकता, निर्वाचन प्रणालीमा भने दलहरु सहमतिको नजिक पुगेको र खासै समस्या नरहेको बताउँदै समायोजनको प्रक्रिया टुङगिए बाँकी रहेको समयमा संविधान जारी गर्न सकिने धारणा राखे। उनले थपे- सबै ढुक्क भए हुन्छ जेठ १४ गते भित्रनै संविधान जारी हुन्छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by