केजिन राई र मणि कुमार राई / एचकेनेपाल डट कम-
ब्रसेल्स बेल्जियम, ९ मार्च। अब आफ्नो भाग्य निर्माण गर्न अरूको भर पर्ने दिन गएको, आफ्नो भाग्य आँफै निर्माण गर्ने दिन आएको कुरा संघीय समाजबादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईले बताउनु भएको छ।

बेल्जियमको लुभेन शहरमा संयुक्त किरात समाज बेल्जियमद्वारा वर्तमान तरल नेपाली राजनीतिका चर्चित राजनीतिक हस्ति अशोक कुमार राईको नागरिक अभिनन्दन कार्यक्रमको सन्दर्भमा बताउनु भएको हो।

पहिचान बिनाको मान्छे भनेको मातृत्व-पितृत्वबिहीन ठेगान नभएको टुहुरालाई बुझिन्छ,२१ औं शताब्दीमा पनि टुहुरो बनेर बस्न सकिन्न अध्यक्ष राईको कथन थियो। आफ्नो पार्टीलाई मार्क्सबादीको आरोप लागि रहेको सन्दर्भमा अब आफू कम्युनिष्ट नरहेको बताउदै पूँजिबाद, समाजबाद, मार्क्सबाद सबैबाट चाहिने कुरा, असल बिचारहरू केलाएर लिनु पर्ने बताउदै आफ्नै माटोमा बनेको सिद्धान्त सङ्घीय समाजबादीमा रहेको जिकिर गर्दै अध्यक्ष राईले अगाडि भन्नु भयो ¨बिरालो सेतो होस् वा कालो, मुसा मार्ने महान लक्ष्य प्राप्ति गरे भई हाल्यो¨।

कार्यक्रममा नेता राईले करीब एकघण्टा आफ्नो धारणाहरु राख्ने क्रममा नेपालका ठूला राजनैतिक दलहरुले जनता र राष्ट्रलाई सहि निकास दिन नसकेको हुंदा नयाँ पार्टीको जन्म भएको हो भन्नु भयो। हामीले कुनै लहडमा वा क्षणिक फाइदा हेरेर पार्टी खोलेका होइनौ, धेरै अध्ययन पूरै छलफल गरि सुझाबहरु लिएर वर्तमान बस्तुस्थितिहरुलाई मध्यनजर गरेर पार्टी खोलेका हौं।

पार्टीले लिएका नीति सिद्दान्त ठीक छैन भन्ने कोही छ भने उनीहरुसंग जुनसुकैबेला खुल्ला छलफल र बहस गरि हामी सहि छौ भन्ने कुरा सिद्द गर्न तयार छौ। यदि कसैले हामी गलत छौ भनि सिद्द गर्न सक्दछ भने हामी अबिलम्ब सच्चिन तयार पनि छौ भन्नुभयो।

अध्यक्ष राईले पार्टी खोल्नुपर्ने औचित्यमाथि प्रकाश पार्दै भन्नुभयो, हाम्रा देशका ठूला पार्टीहरुले पहिचान सहितको संघीयताको मुद्दालाई अगाडि बढाउन नसकेको हुंदा देशमा भएका सबै खाले शोषण अन्याय, अत्याचार र उत्पीडन, विभेदहरु समाप्त गरि नया समृद्द नेपाल बनाउन बर्गीय मुक्तिको लागि समाजबाद , जातीय मुक्तिको लागि संघीयता र पहिचान सहितको संघीयता, संघीयता सहितको संबिधान बनाउन हाम्रो पार्टी अगाडि आएकोछ भन्दै संघीय समाजबादी पार्टीमा आवद्ध हुन तमाम तप्कालाई आब्हान गर्नुभयो।

किरात समाज बेल्जियमका कार्यबाहक अध्यक्ष पूर्ण कांगबांग लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समाजकै महासचिब मुना राईले संचालन र समाजका सल्लाहकार बदन योङ्गहाङ्ग लिम्बुले स्वागत मन्तब्य दिनु भएको थियो।

कार्यक्रममा किरात सदस्यहरुका साथ अन्य सहकर्मी नेपाली सामाजिक संघसंगठनहरु आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पा, बिश्व मगर संघ बेल्जियमका अध्यक्ष मार्के मगर, शेर्पा समाज बेल्जियमका अध्यक्ष सोनाम शेर्पा र नेपालबाट आउनु भएका कलाकार ज्योति मगर लगायतको सहभागिता रहेको थियो।

उक्त महत्वपूर्ण एतिहासिक कार्यक्रममा आआफ्नो परिचय दिने क्रममा धेरै सहभागीहरुले सम्मानित नेता अशोक कुमार राईका अनुभबि खारिएका राजनैतिक नीति बिचारको प्रसंशा गर्दै उहाको पार्टीमा समाबेश भएर हुन्छ वा बाहिर रहेर हुन्छ आआफ्नो प्रकारको सहयोग पुर्याउने बचन दिएका थिए भने अन्य पार्टीमा रहेका व्यक्तिहरुले समेत पहिचान र संघीयतासहित जनजीविकाको सवालमा संयुक्त रुपमा अगाडि बढ्न सकिने विचार ब्यक्त गर्दै अध्यक्ष राईका सारगर्भित, शानदार, शालिन सभ्य बक्तब्यको सबैले सराहना गरे।

त्यसै गरी, समाजका बिषयमा जानकारी गराउदै मणि कु राईले हाम्रो संयुक्त किरात समाज कुनै राजनैतिक पार्टीसंग आवद्द नभै बिशुद्ध सामाजिक संगठन भएको हुंदा राष्ट्र सेवक नेता राईलाई राजनैतिक पार्टी बिशेषको नाताले नभै चारदशक अगाडिबाट राजनैतिक पार्टीमा रहेरपनि इमान्दारपूर्बक निरन्तर नेपाली जनता र राष्ट्रको सेवामा निस्वार्थ समर्पित संघर्षरत कर्मठ अनुभबि किरात राष्ट्रसेवक नेपाली राष्ट्रिय राजनीतिमा नेतृत्व गर्न सफल नेपाल राष्ट्रकै बौद्धिध किरात व्यक्तित्व हुनुभएकोमा नागरिक अभिनन्दन गरेको बताउनु भयो।

नागरिक अभिनन्दन कार्यक्रममा नेता राईलाई संस्थाका काबा अध्यक्ष पूर्ण कांगबाँग लिम्बुले फूलको गुच्छा र खादा ओढाई कार्यसमितिका पदाधिकारीहरु कांगबाँग लिम्बू, मुना राई , बिमल सुब्बा, बदन योङ्गहांग लिम्बू , पपुषा लिम्बू, माकुना लिम्बू , कर्ण सुब्बा, राजेश लिम्बू, मणि राई एवैछा, अमित चेम्जोङ्ग र केजिन राईका सामुहिक बाहुलीबाट संस्थाको तर्फबाट अभिनन्दन पत्र प्रदान गरिएको थियो। कार्यक्रम बिसर्जनपछि रात्रि भोजको आयोजना गरिएको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस