सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, २४ फागुन। सञ्चारकर्मीहरुले कहिले पनि स्वतन्त्ररुपमा कलम चलाउन नपाएको धरानमा आयोजित एक कार्यक्रमका सहभागी सञ्चारकर्मीहरुले बताएका छन्।
प्रथम दिव्यराज आचार्य स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका सहभागीहरुले विहीवार उद्योग वाणिज्य संघ सुनसरीको सभाहलमा यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव ओम शर्माले राणाशासन, पञ्चायत, बहुदल तथा अहिले लोकतन्त्र आएपश्चात पनि पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन नपाएको बताउनुभयो।
उहाँले स्वतन्त्र रुपले कलम चलाउने सञ्चारकर्मीलाई विभिन्न समु्दायबाट धम्की, अपहरण र हत्यासम्म गर्ने कार्य दिनप्रति बढ्दा समेत पत्रकारको सुरक्षामा राज्य नलागेको आरोप लगाउनुभयो। उहाँले यस्तो अवस्थामा पनि सञ्चारकर्मीहरु विना तलब, विना स्वार्थ कार्यक्षेत्रमा लागि परे पनि पत्रकार श्रम ऐन लागू हुन नसकेको भने दुःख व्यक्त गर्नुभयो।
क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य विवेक गौतमले अहिले ठूला भनिने सञ्चारमाध्यम ठूला हुनुमा सञ्चारकर्मीको हात भएको बताउनुहुदै ती मिडियाले श्रम शोषण गरेर करोडौ कुम्ल्याउन सफल भएको बताउनुभयो।
यस्तै बरिष्ठ पत्रकार हर्ष सुब्बाले सम्मान सही व्यक्तिलाई दिए त्यसको महत्व धेरै बढ्ने भएकोले आजको सम्मान कार्यक्रमबाट आफू खुशी भएको बताउनुभयो। यस्तै पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले सञ्चारकर्मीहरु राजनीतिमा लाग्नु नहुने र स्वतन्त्र रुपमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो। उहाँले दबाब आए त्यसको प्रतिकार गरेर भएपनि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
क्रान्तिकारी पत्रकार संघ सुनसरीका अध्यक्ष श्रीशीशा राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा दिव्यराज आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट धरान अग्रज पत्रकार भवानी बराल र इनरुवाका पत्रकार धिरेन्द्रकुमार चौधरीलाई सम्मान गरिएको छ। आचार्यको १९ औं पूण्यतिथिमा बिहीबार क्रान्तिकारी पत्रकार संघ सुनसरीले उद्योग बाणिज्य संघको हलमा नगद सातहजार ५ सयसहित सम्मान–पत्रले बराल र चौधरीलाई पुरस्कृत गरियो। बराल तीनदशक अघिदेखि पत्रकारिता पेशामा आवद्ध छन् भने चौधरी एकदशक अघिबाट पत्रकारितामा कार्यरत छन्।
आचार्यका छोरा गणेशले गत भदौं १७ गते पत्रकारिता कोष स्थापनाको घोषणा गरेका थिए। एक लाखबाट स्थापित अक्षयकोषलाई आगामी केहीवर्षमा ५ लाख पु¥याउने योजना अनुरुप हाल कोषमा २ लाख रहेको छ। कोषलाई क्रान्तिकारी पत्रकार संघ सुनसरीले संचालन गरिरहेको छ। दिव्यराजको पूण्य तिथिमा हरेकवर्ष पत्रकारहरुलाई सम्मानित गर्ने जनाइएको छ। सम्मानित पत्रकार बराल र चौधरीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव ओम शर्माले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b