एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २३ फागुन। प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन नगरे प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा निर्वाचन गराउने विकल्प प्रस्तुत गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुन नसके अहिलेकै सरकारमा काग्रेस एमालेलाई गृह, अर्थ, रक्षा र सामान्य प्रशासन जस्ता महत्वपूर्ण मन्त्रालय दिएर निर्वाचनमा जानु पर्ने बताए।

debendra paudelसाक्षात्कारमा पौडेलले भने–प्रधानन्यायाधीश नभए बहालवाला सरकारकै नेतृत्वमा जानु पर्छ। निर्वाचनलाई प्रभावित पार्न सक्ने शंका भए त्यस्तो मन्त्रालय लिएर काग्रेस र एमाले जान सक्छन्। संविधानसभाबाटै संविधान जारी गराउन जुनसुकै विकल्पमा जान सकिने तर्क गर्दै उनले चुनाव मार्फत जनतामा जानु भन्दा ठूलो लोकतान्त्रिक विधी र प्रक्रिया अरु हुनै नसक्ने ठोकुवा गरे। लोकतान्त्र र शक्तिपृथकीकरणको जतिसुकै दुहाई दिए पनि निर्वाचनमा जानुको विकल्प कुनै पनि दलहरुसँग नभएको स्पष्ट पार्दै निर्वाचनमा विवाद गरेर लोकतन्त्र संस्थागत हुन नसक्ने दावी गरे।

निकासको लागि विकल्प पनि दिन नसक्ने र दिईएको विकल्पमा पनि आउन नसक्ने बाँदरे प्रबृत्ति दलहरुमा हावी रहेकोले समस्या आएको आरोप लगाउँदै उनले प्रधानन्यायाधीशको नेतृत्वबाट नै मुलुकले निकास पाउने भएकोले यसको विरोध नगर्न आब्हान गरे। प्रधानन्यायाधीशलाई चुनाव गर्न चुनावी परिषदको अध्यक्ष बनाउन संविधानले रोक्न नसक्ने दावी गर्दै पौडेलले जेठ सम्ममा निर्वाचन हुने छलफलकै आधारमा प्रधानन्यायाधीशलाई प्रस्ताव गरिएको स्पष्ट पारे। उनले भने–हचुवाको भरमा जेठमा चुनाव हुन्छ भनिएको होईन। निर्वाचन आयोग, पूर्व पदाधिकारी, प्रहरी, शसस्त्र, सेना र ब्यूरोक्रेसीसँग छलफलपछि यस्तो प्रस्ताव ल्याईएको हो। दलहरु प्रधानन्यायाधीशको नेतृत्वमा चुनाव गर्नेमा सहमतिको नजिक पुगेकोले यसलाई संरक्षण गर्दै अघि बढ्नु पर्ने तर्क गर्दै केही दिनभित्रमै सहमति हुने विश्वास समेत ब्यक्त गरे।

नेपाली काग्रेसका नेता डा शेखर कोइरालाले प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बनेको दिनदेखि मुलुकमा तानाशाही शासन सुरु हुने दावी गर्दै प्रधानन्यायाधीश प्रधानमन्त्री बने कार्यपालिका, न्यायपालिका र ब्यवस्थापकीय अधिकार एउटै ब्यक्तिमा नीहित हुने भएकोले निरकुंशता असम्भावी हुने ठोकुवा गरे। उनले भने– बाबुराम भट्टराई नामको तानाशाह हटाउने नाममा अर्को तानाशाह नजन्माऔ।

बाबुराम भट्टराईलाई हटाउने र निर्वाचन गराउने नाममा मुलुकमा लोकतान्त्रिक मुल्य मान्यतालाई बलि नचढाउन आग्रह गर्दै कोइरालाले बहालबाला प्रधानन्यायाधीश बाहेकको जुन सुकै विकल्प स्वीकार्न समेत आफू तयार रहेको बताए। उनले आग्रह गर्दै भने–चुनाव र बाबुराम हटाउने नाममा लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई ध्वस्त नपारौ। बहालबाला प्रधानन्यायाधीश बाहेक जो भए पनि म फूलमाला लिएर स्वागत गर्न जान्छु। एमाओवादीकै आग्रहमा पार्टी सभापति सुशिल कोइरालाको नाम घोषणा गरेकोले पहिला किन उहाँ हुन नसक्ने भनी जवाफ आउनु पर्ने माग गर्दै प्रधानन्यायाधीश बाहेक साना दल, पूर्व सभामुख उपयुक्त विकल्प हुन सक्ने प्रस्ताव कोइरालाले गरे।

कोइरालाले सर्वोच्च अदालतमा विचाराधिन रहेको विषयलाई फैसला आउनु भन्दा अघि नै अर्थात फागुण २४ गते अघि नै सरकार बनाउने तयारीले शिर्ष नेताहरुले लोकतन्त्र नै नबुझेको स्पष्ट भएको भन्दै विचारधिन मुद्दा हुँदा हुँदै प्रधानमन्त्री स्विकार्ने र अदालतबाटै विज्ञप्ति निकाल्ने प्रधानन्यायाधीशलाई अदालतको अवहेलना सम्बन्धी मुद्दा लाग्ने बताए। उनले भने–माओवादी जे भन्दै छ प्रधानन्यायाधीश त्यही बोल्दैन। माओवादीले संविधानसभामै न्यायपालिकालाई संसद मातहत राख्नु पर्छ भनेको थियो। अहिले पनि त्यही षडयन्त्रमा अघि बढिरहेको छ।

शिर्ष नेताहरुले आफूहरुले धेरै विकल्प दिदा दिदै पनि दलहरुको बाट विकल्प नखोजी च्याप्टर क्लोज भनेको गुनासो गर्दै कुन ताकतले गर्दा प्रधानन्यायधिस हुदैन भन्न नसकेको भनि प्रश्न उनले गरे। उनले प्रधानन्यायाधीशको नेतृत्वको विषयमा देशै विभाजित भएको अवस्थामा फेरी पनि प्रधानमन्त्री बनाई आफूले सधै विरोध गर्ने स्पष्ट पार्दै प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकारले जेठमा त के मंसिरमा समेत निर्वाचन गर्न नसक्ने ठोकुवा गरे।

राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले निर्वाचन राजनीतिक विषय भएकोले समाधान पनि राजनीतिक दलले मात्रै दिन सकने भन्दै प्रधानन्यायाधीशले समस्याको समाधान गर्नै नसक्ने ठोकुवा गरे। अहिलेको गतिरोधको निकास निर्वाचन नै भए पनि प्रमुख दलहरुको सत्तालोभका कारण निर्वाचन हुन नसकेको आरोप लगाउँदै प्रधानन्यायाधीशले प्रधानमन्त्री हुनु पूर्व राजिनामाको घोषणा गरे मुलुकले निकास पाउने विश्वास ब्यक्त गरे।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस