एचकेनेपाल डट कम संवाददाता –
पाल्पा, २२ फागुन। बेहुली लिएर फर्केको जन्ती बोक्ने बस आइतवार राति दुर्घटना हुंदा १५ जनाको मृत्यु र २६ जना घाइते भएका छन्।

Accidentपाल्पाको खानीछाप-७ आमडाँडाबाट बेहुली लिएर फर्केको बस चिदीपानी-२ धैरेनीमा राति करीव साढे ९ बजे दुर्घटना भएको हो।

खानीछाप गाबिसको आमडाडामा रहेको बेहुलाको घर फर्किदै गरेको लु १ ख २७९५ नम्बरको बस सडकबाट झण्डै ७ सय मिटर तल भालुखोलामा खस्दा १५ जनाको ज्यान गएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार १२ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा मृत्यु भएको हो।

दुर्घटनामा बस चालक हुमिन पाल्पाका २५ बर्षीय मिलन बिक, दुलाहा गाउंका बुढीकोटका ५५ बर्षीय बेदबहादुर बिरकट्टा, २५ वर्षीया कमला जर्घा, २८ वर्षीय लोकबहादुर सारु, १६ वर्षीया नबिना सुर्यबंशी, १७ वर्षीया केश कुमारी बिरकट्टा, २५ वर्षीय योगेन्द्र चर्ती र २५ वर्षीया केशरी सारु रहेका छन्।

त्यस्तै अरु मृत्यु हुनेहरुमा ४५ वर्षीय बिष्णु बहादुर चर्ती, १८ वर्षीय नबिन सुर्यबंशी, ३० वर्षीया लुलिसरा सारु र २६ वर्षीय रमेश बिक रहेका छन। उपचारको क्रममा मृत्यु हुनेहरुमा लुम्बिनी चिदिपानी ७ का २१ बर्षीय सुरज न्यौपाने, ५६ बर्षीय अम्मरबहादुर दर्घा र २५ वर्षीया रमा सारु रहेका छन्।

दुर्घटनामा बसबाट उछिट्टिएर रुखमा अड्केकी दुलाही बिष्णु चर्ती र दुलाहा रोशन चर्ती भने भाग्यवस् बाँचेका छन्। विष्णुको भारतमा नोकरी गर्ने रोशनसंग प्रेम बसेपछि गत माघ २० गते भागेर विवाह गरेका थिए। फागुन २० गते मगर संस्कृति अनुसार ढोक फेर फुकाएर बेहुलीको घरबाट फर्कदा जन्ती बस दुर्घटनामा परेको थियो।

यही ठाउंमा ५ वर्षअघि यात्रुवाहक बस दुर्घटना हुंदा ३२ जना र २ वर्षअघि ट्रक दुर्घटना हुंदा २ जनाको मृत्यु भएको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस