दीपक अधिकारी / एचकेनेपाल डट कम-
काठमाडौं, २० फागुन। तीन दशकभन्दा लामो समयदेखि सक्रिय संगितसाधक लाल श्रेष्ठको संगीतमा केही नयाँ प्रयोगहरूसहितको पुस्तक ‘औडब’ प्रकाशन भएको छ।

२०३३ साल यता संगीतमा सक्रिय श्रेष्ठले औडब पुस्तकमार्फत संगीतमा केही नयाँ प्रयोग गरेको दाबी गरेका छन्। औडब पुस्तकको शनिबार एक औपचारिक कार्यक्रमबीच आर्को म्युजिक इन्टिच्यूटका सञ्चालक वरिष्ठ गिटार प्रशिक्षक राजकुमार मालाकारले विमोचन गर्नुभयो। कार्यक्रममा संगीतकार श्रेष्ठले पुस्तकमार्फत आफूले संगीतमा केही नयाँ प्रयोग गरेको र केही नयाँ तथ्य बाहिर ल्याएको बताए।

संगीतमा राग बन्न कम्तिमा ५ स्वर चाहिन्छ भन्ने मान्यता चिर्दै श्रेष्ठले एक स्वर, दुई स्वर, तीन स्वर र चार स्वरका रागको सिर्जना गरेका छन्। लेखक श्रेष्ठले आफूले गरेका सिर्जना र प्रयोगमाथि संगीत क्षेत्रका विज्ञहरूबाट अनुसन्धान होस् भन्दै संगीतमा नयाँ प्रयोग गर्न चाहनेका लागि आफ्नो पुस्तक राम्रो माध्यम बन्न सक्ने धारणा राखे। पुस्तकमा शान्त रस, करुण रस र हास्य रस जस्तै रौद्र रस, वीभत्स रस, भयानक रस, अद्भुत रसका सिर्जना पनि समेटिएको छ। ५६ पृष्ठ लामो पुस्तकमा ३३ वटा नयाँ प्रयोग गरिएको छ।

१ स्वरको रागलाई गोपाल योञ्जन र नारायण गोपालको नाममा समर्पित गरेका श्रेष्ठले २ स्वरको रागलाई अम्बर गुरुङ र रन्जित गजमेर तीन र चार स्वरको रागलाई आफ्ना स्वर्गीय बाबु–आमाको नाममा समर्पित गरेका छन्। साको कंपन २०४ र रे को कम्पन २७० भन्ने पूर्वेली मान्यतामा नयाँ प्रयोग गर्दै उनले २४० देखि २७० सम्मको कंम्पन संख्यालाई क्रमशः सा र रेका बीचमा मिलाएर गीत भविष्य नामको रचना सिर्जना गरेका छन्। त्यतिमात्रै नभएर उनले भारतखण्डे पद्धतिका प्रचलित दश थाटहरूलाई यौटै गीतमा समेट्दै, नवैवटा रसलाई यौटै धुनमा राखेरसमेत प्रयोग गरेको जानकारी दिए।

कवितात्मक या अनुप्रास मिलेका गीत, कवितामा मात्र नभई पुस्तकका अनुच्छेदहरूमा समेत संगीत भर्न सकिने पुस्तकमा उल्लेख छ। उनले कर्ण शाक्यको बहुचर्चिक पुस्तक खोजको एउटा अनुच्छेद, बाइबलबाट लामो अनुच्छेद, भैरव अर्यातको निवन्ध मपाईं र अंग्रेजी कथा द रिकरिङ ड्रिममा समेत संगीत भरेका छन्। अहिलेसम्म ८ हजार ७ सय धुन रचिसकेका श्रेष्ठको पुस्तक एकता बुक्सले बजारमा ल्याएको हो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस