आदिवासी जनजाति युवा महासंघ, नेपाल
प्रेस विज्ञप्ति
आदरणीय सञ्चारकर्मी मित्रहरु,
करिब डेड करोड आदिवासी जनजातिमध्ये लगभग ४० प्रतिशत हिस्सा ओगट्ने यो मुलुकको आदिवासी जनजाति युवाहरुको गौरवशाली इतिहास बोकेको एकमात्र साझा, सामाजिक र अधिकारवादी संस्थाहरुको छाता संगठन हो आदिवासी जनजाति युवा महासंघ, नेपाल। आफैंमा यो महासंघ स्वायत्त र स्वतन्त्र भएपनि नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध भएको छ। विशेष गरी आदिवासी जनजाति युवाहरुका सवालहरु र आम आदिवासी जनजातिहरुको साझा मुद्दाहरुमा एकिकृत ढंगले समन्वय र सहकार्य गर्दै आइरहेका छौं । आदिवासी जनजाति युवाहरुको मात्रै केही विशिष्टकृत र पहिचान सहितका मुद्दाहरु उठान गरिरहेको छ । २०५७ सालदेखि आफ्ना सांगठनिक गतिविधिहरु संगठित रुपमा संचालन गर्दै आएको यो संस्था २०६२ सालबाट क्रियाशिल रहँदै आएको र २०६७ माघ १५ देखि १८ गते सम्म काठमाडौंमा सम्पन्न भएको ऐ्तिहासिक दोश्रो राष्ट्रिय महाधिवेशनले यो संगठनको एकात्मक संरचनामा परिवर्तन गरी अर्ध संघात्मक संरचनासहितको संघात्मक प्रणालीलाई अवलम्बन गर्दै विधिवत रुपमा २०६७ सालमा जिल्ला प्रसासन कार्यालय काठमाण्डौमा दर्ता गरिएको हो । तत्पश्चात देशभरि संगठन विस्तारलाई प्राथमिकता दिँदै आदिवासी जनजातिका मुद्दाहरुलाई नयाँ संविधान निर्माणको प्रक्रियासँग जोड्दै आफ्ना कार्यनीतिक योजना सहित यो संगठन देशव्यापी रुपमा सञ्जाल विस्तार गर्दै अघि बढिरहेको छ । अहिले ५५ जिल्ला शाखा समिति तथा ४१ एकल जातीय युवा संस्थाहरु आवद्ध भइसकेको यस संगठनले पछिल्लो समयमा आदिवासी जनजातिसँग सरोकार राख्ने राज्य पुनःर्संरचना, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली एवं राष्ट्रिय युवा नीति, युवा स्वरोजगार सम्बन्धि जनचेतना, आदिवासी जनजातिहरुका भाषा संस्कृति, लगायत विषयमा बहस, अन्तरक्रिया र अन्तरसंवादहरुलाई राष्ट्रिय, क्षेत्रिय र स्थानीय स्तरमा तिव्रता दिँदै आएको छ।
यसै सन्दर्भमा “आदिवासी जनजाति युवाहरुको अभियान, एकल पहिचान सहितको संघीय संविधान” भन्ने मूल नाराका साथ आदिवासी जनजाति युवा महासंघ नेपालले केन्द्रिय पार्षदसभा तथा राष्ट्रिय युवा भेला यही २०६९ फागुन १९ र २० गते काडमाडौंमा आयोजना गर्न गइरहेको छ । देशभरिबाट ५५ जिल्लामध्ये अधिकांश जिल्लाहरुबाट र महासंघमा आवद्ध ४१ एकल जातीय युवा संस्थाहरुबाट गरी लगभग ३०० जना प्रतिनिधिहरुले यो राष्ट्रिय युवा भेलामा सहभागिता जनाउने छन् । कार्यक्रमको उदघाटन समारोह फागुन १९ गते आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सभाहल, जावलाखेलमा हुनेछ भने बन्दसत्र सुनुवार सेवा समितिको सभाकक्ष, कोटेश्वरमा सम्पन्न गरिनेछ । संस्थाको साँगठनिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल पश्चात पारित गरिने कार्यक्रम रहेको जानकारी गराउँदै उक्त राष्ट्रिय युवा भेलाले संस्थाको विधान समेत संशोधन समेत गर्नेछ । यस राष्ट्रिय युवा भेलालाई भव्य, सभ्य र व्यवस्थित ढंगले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी परिचालित समेत गरिएको छ भने भेलाको अन्तिम तयारी पनि पूरा भएको छ ।
आदिवासी जनजाति युवा महासंघ नेपालद्वारा आयोजित यस केन्द्रिय पार्षदसभा तथा राष्ट्रिय युवा भेलालाई भव्य रुपमा सम्पन्न गर्न कार्याक्रम बारे समाचार संकलन, सम्प्रेषण तथा प्रसारणमा आवश्यक सहयोग गरिदिन हुन तमाम सञ्चारकर्मी मित्रहरुमा हार्दिक अनुरोध गर्दछौं।
…………………..
पृथ्वीमान गुरुङ
अध्यक्ष
आदिवासी जनजाति युवा महासंघ नेपाल, केन्द्रिय समिति
संयोजक, केन्द्रिय पार्षदसभा तथा राष्ट्रिय युवा भेला मूल आयोजक समिति–२०६९
ज्ञानेन्द्र पुनमगर
महासचिव, आदिवासी जनजाति युवा महासंघ, नेपाल
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b