Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पोर्तुगलमा संघीय समाजवादी पार्टी गठन

योगेन्द्रमिलन छन्त्याल/ एचकेनेपाल डट कम –
पोर्तुगल, १७ फागुन। पोर्तुगलमा संघीय समाज नेपालको गठन भएको छ। बुधबार यहाँ सम्पन्न पोर्तुगल तदर्थ समितिको घोषणा सभा तथा अन्तर्क्रिया कार्यक्रममा २५ सदस्यीय कार्यसमितिको गठन भएको हो।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले ‘पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभाबाटै संविधान’ हुनुपर्ने अभियानमा लागि पर्न सबैलाई आग्रह गरे।

‘देश टुक्रन थालेको छ, सबै नागरिकहरुमा वैमनश्यता, विवाद र फूट छ । हामीले नेपालीलाई एकजुट बनाउन संघीय समाजवादी पार्टीको स्थापना गरिएको हो ।’ राईको दावी थियो, ‘नेपालको सरकार महिलाले हेरे पुरुषको प्रभुत्व देख्छ । जनजातिले हेरे ब्राह्मणवादी देख्छ । दलितले हेरे कथित उपल्ला जातिको बोलवाला देख्छ । पिछडिएका क्षेत्रकाले हेरे शहरियाहरुको एकलौटी भएको देख्छ । यसरी अधिकांश नेपालीहरुको अपनत्व नहुने राज्य स्वत: कम्जोर हुन्छ। देशको विकासले गति लिदैन । यसको निकासका लागि हामीले नयाँ पार्टी बनाएका छौ।’

विशेष अतिथि एवं नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले जनजातिहरुले पहिचान नपाउञ्जेल संघर्ष गर्न आह्वान गरे । उनले सधै अरुका लागि लड्ने जनजातिहरु आफ्नो अधिकार प्राप्तिका लागि फेरी एउटा भयानक लडाई लड्नसक्ने चेतावनी दिए। शेर्पाले अझै राजनीतिक निकासको विकल्पमा संविधान सभाको पुनर्स्थापनालाई सर्वोत्तम उपाय भएको जिकिर गरे।

कार्यक्रममा पोर्तुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष रमेशकुमार गुरुङ र जनजाति महासंघ पोर्तुगलका अध्यक्ष दावासाङ्गे पाख्रिनले पनि आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा पञ्च गुरुङको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिको घोषणा गरिएको थियो । जसमा उपाध्यक्ष सोम्फुरी शेर्पा, महासचिव नरभूपाल राई, कोषाध्यक्ष कान्छा शेर्पा रहेका छन् भने उपाध्यक्ष र सचिवको पद समावेशीताका लागि रिक्त राखिएको छ।

कार्यसमितिका सदस्यहरुमा गङ्गा गुरुङ, कला राई, राजकुमार थापा क्षेत्री, केन्द्र लिम्बु, दीलिप राई, माया तामाङ पाख्रिन, कमलकुमार थापा, राजु वाइबा र यगेन्द्र गुरुङ रहेका छन्। समितिका थप सदस्यहरुमा यक्ष राई, राम गुरुङ, याम गुरुङ, जस्मीन सुब्बा, नोम ल्होमु शेर्पा, विशाल लिम्बु र काजी तामाङ रहेका छन्।

समितिले ९ सदस्सीय सल्लाहकार समितिको पनि चयन गरेको छ। जसमा मानबहादुर पुर्जा, गणेश याख्खा, पेम्बा शेर्पा, जीत गुरुङ, दावा साङ्गे पाख्रिन, बि बि सुब्बा, सुर्य भट्टचन र पेम्बा छिरी शेर्पा रहेका छन्।

पार्टीको वैदेशिक मोर्चामा बेलायतपछि पोर्तुगल दोश्रो शाखा बनेको छ। आयोजक समिति संयोजक पञ्च गुरुङको अध्यक्षतामा नरभूपाल राईले संचालन गरेको अन्तरक्रिया होटेल फेनिक्स लिबोनमा सम्पन्न भएको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by