सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
सुनसरी, १५ फागुन। नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएर निर्माण सुरु हुन लागेको २ सय ६९ मिटर अग्लो सप्तकोसी उच्च बाध निर्माणमा नेकपा- माओवादीले कुनै हालतमा सञ्चालन गर्न नदिने चेतावनी दिएको छ।

माओवादीले मंगलवार सप्तकोसी उच्च बाध निर्माणको संगम स्थल धनकुटाको आहालेमा स्थलगत निरीक्षण गर्दै कोसी उच्च बाँध निर्माण गर्न सम्झौता गर्र्नेहरु जनविद्रोहको पहिलो निसाना बन्ने चेतावनी माओवादी नेताहरुले दिएका छन्।

नेकपा—माओवादीका पोलिटव्युरो सदस्य खड्गबहादुर विश्वकर्माको नेतृत्वमा सुनसरीको बराह क्षेत्र, धनकुटाको आहाले लगायतको सप्तकोसी उच्च बाँध निर्माण गर्ने स्थानको निरिक्षण गरेको छ । निरीक्षणमा गएका माओवादी नेता तथा कार्यकर्ताहरुले धनकुटाको आहाले गाविस ४ स्थित सुनाखमम्बीमा निर्माण गरिएका सप्तकोसी नदीको पानी मापन गर्ने चारवटा गेज तोडफाड गर्दै नाराबाजी गरेका थिए। माओवादीले सप्तकोसी उच्चबाध निर्माण कार्य तत्काल बन्द गर्न चेतावनी दिदै पार्टीका तीनवटा झण्डा पनि उक्त स्थानमा गाडेको छ।

निरीक्षण पश्चात सप्तकोसी उच्च बाध नेपाल र नेपाली जनताका लागि घातक र हानिकारक भएकाले तत्काल सरकारले भारतसंग गरेको सप्तकोसी उच्च बाधको सम्झोता खारेज नगरे सरकारविरुद्ध टिट फर ट्याटको निति अबलम्बन गरिने नेता विश्वकर्माले चेतावनी दिएका छन् । उनले एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराई भारतका दलाल भएकाले सप्तकोसी उच्च बाध निर्माणमा सम्झौता गरी नेपाल र नेपाली जनताको हित विपरित लागेको आरोप लगाए।

नेता विश्वकर्माले सप्तकोसी उच्च निर्माणले हजारौ बस्तीहरु विस्तापित र पूर्वी नेपालका सयौ प्राकृतिक सम्पदाहरुको विनास र क्षति हुने भएकाले माओवादीले सप्तकोसी उच्च बाध निर्माणको विरोध गर्नु परेको बताए। उनले सरकारले जबरजस्ती सेना र प्रहरी लगाएर सप्तकोसी उच्च बाधको निर्माण कार्य थालिए राष्टिय स्वाधिनताको रक्षाका लागि नेकपा—माओवादीले हतियार उठाउने चेतावनी समेत दिएका छन्। विश्वकर्माले नेपाली जनताको अनुमति बेगर गरिएका सम्पूर्ण सम्झौताहरु खारेज नगरिए देशमा जनविद्रोह मार्फत रक्तपात मच्चाउने चेतावनी दिएका छन्। राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पहिले हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ यदि हाम्रो आन्दोलनलाई दमन गरिए हामी हतियारबाटै प्रतिकृयावादी दलालहरुलाई ठेगान लगाउछौ विश्कर्माले भने।

माओवादी कोचिला राज्य समितिका सेक्रेटरी तथा पूर्व सभासद किरण राईले पार्टीको केन्द्रिय कार्यक्रम अनुसार सप्तकोसी उच्च बाधको विरोध गरिएको बताए। उनले सप्तकोसी उच्च बाधवाट पूर्वका सुनसरी, मोरङ,धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, पाचथर, लगायतका दर्जनौ गासिवसका हजारौ बासिन्दाहरु विस्तापित हुनुका साथै ठूलो जनधनको क्षति हुने भएकाले सप्तकोसी उच्च बाधको विरोध गर्नु परेको बताए। मंगलवार नै माओवादीले सुनसरीको चतरामा स्थानीय बासिन्दा भेला गरी सप्तकोसी उच्च बाधका विरुद्ध सबैलाई उत्रन माओवादी नेताहरु विश्वकर्मा र सावित्रिकुमार काफ्ले लगायतले आग्रह गरेका छन््।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस