एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ११ फागुन। नेपाली काग्रेसका यूवा नेता गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णयविरुद्ध प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिन अग्रसर पार्टीका शीर्ष नेताहरुको विषयमा महासमिति बैठकबाट छिनोफानो गर्ने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले बहालबाला प्रधानन्यायाधीश बाहेकका सबै विकल्प खुल्ला राख्ने गरी पार्टीले निर्णय गरेको उल्लेख गर्दै भने–शिर्ष नेताहरुले अहिले गरेको काम किर्ते र जालसाझी पूर्ण छ। केन्द्रीय समितिको निर्णय विपरित गएकोले अब महासमितिले त्यसको छिनोफानो गर्नु पर्छ। हामी त्यो अभियानमा छौ।

gagan-thapaथापाले काग्रेसका शीर्ष नेताहरुबाहेक सबै नेता कार्यकर्ताहरु बहालवाला प्रधानन्यायाधीशको नेतृत्वको विरोधमा रहेको दावी गर्दै शक्ति पृथकीकरण लोकतन्त्रको प्राण भएकोले त्यो नरहे लोकतन्त्र पनि नरहने भएकोले लोकतन्त्र विरुद्धको सबै सहमति काग्रेसलाई मान्य हुनै नसक्ने ठोकुवा गरे। संसदको मातहतमा न्यायपालिका हुनु पर्छ भनेको एमाओवादीको योजना अनुसार स्वतन्त्र न्यायलयलाई ध्यवस्त पार्ने योजनाका साथ प्रधानन्यायाधीशको प्रस्ताव आएको दावी गर्दै एमाओवादीले निर्वाचन गर्ने भन्दा पनि सत्ता लम्ब्याउने उद्देश्य प्रस्तावमा अन्र्तनिहीत रहेको ठोकुवा गरे।

प्रधानन्यायाधीश प्रधानमन्त्री भएपछि कहिल्यै पनि लोकतन्त्र स्थिर हुन नसक्ने र यसले सबै कर्मचारीमा नियुक्तिसँगै राजनीतिक अभिष्ट सुरु हुने भएकोले दलसँग लसपस गर्ने मान्छे प्रधानन्यायाधीश कायम रहनै नहुने तर्क गरे। उनले भने–खिलराज रेग्मी प्रधानन्यायाधीश हो कि दलको प्रधानमन्त्री उमेदवार? यस्तो विवादित रहेर न्यायपालिका स्वतन्त्र रहन सक्दैन । त्यसैले प्रधानन्यायाधीशले तत्काल राजिनामा दिनु पर्छ। प्रधानन्यायाधीशको प्रधानमन्त्री बन्ने चाहनाले संविधानसभाको विघटनको आदेश षडयन्त्रको श्रृंखला थियो कि भन्ने आशंका उब्जिएको छ्।

कार्यपालिकाको प्रमुख भए सँगै सर्वोच्च अदालतले दोषी ठहर गरेका बालकृष्ण न्यौपाने सहितका दोषीहरुलाई कारवाही गर्ने हिम्मत राख्नु पर्ने चुनौति दिदै उनले भोलि कार्यपालिका प्रमुखका हैसियतमा प्रधानन्यायाधीशले गरेको निर्णयलाई अदालतमा चुनौति दिन मिल्ने कि नमिल्ने भनि प्रश्न गरे। उनले शीर्ष नेताहरु विदेशी शक्ति केन्द्रको आडमा प्रधानमन्त्री बन्ने योजनमा रहेको आरोप लगाउँदै शीर्ष नेताहरु शक्ति केन्द्रको आर्शिवादको आकाँक्षीहरुको डवलीमात्र भएको दावी गरे। उनले एमाओवादी र मधेसी मोर्चाको निर्वाचनमा जाने हैसियत नभएकोले निर्वाचन टार्न प्रधानन्यायाधीशको नेतृत्वमा निर्वाचन गर्न ल्याएको ठोकुवा पनि गरे।

साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता शक्ति बस्नेतले नेपालको पछिल्लो अवस्था संबैधानिक बाटोमा नरहेकोले संविधानबाट मात्रै निकास ननिस्कने भन्दै संबैधानिक प्रक्रियाबाट बाहिर राजनीतिक सम्झौताको आधारमा मात्र निकास निकाल्न सकिने स्पष्ट पारे। उनले काग्रेस र एमाले सहितका दलहरुको चिन्ता निर्दलीय प्रधानमन्त्री हुने भयो भन्ने कि चुनाव हुने भयो भन्नेमा हो भनि आशंका ब्यक्त गर्दै ७० सालसम्ममा निर्वाचन भए मुलुक झन ध्यवस्तात्मक बाटोमा फस्ने चेतावनी दिए। प्रमुखदलहरु प्रतिबद्ध भए निर्वाचन हुने दावी गर्दै बस्नेतले निर्वाचनको सुनिश्चितता भए सबै दलहरु निर्वाचनमा आउने ठोकुवा गरे। मुलुक जटिल अवस्थामा रहेकोले आलोचनाको अर्थ नरहने भन्दै माओवादी निर्वाचनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे।

नेकपा–माओवादीका नेता लेखनाथ न्यौपानेले स्थानीय निकाय कर्मचारीको हातमा दिदा भ्रष्टाचार ब्याप्त भएको र स्थानीय निकास असफल प्रमाणित भईसकेको अवस्थामा केन्द्रीय नेतृत्व पनि कर्मचारीलाई दिदाँ मुलुकले निकास नपाउने दावी गर्दै मुलुक चार दलका केही नेताको घेराबन्दीमा रहँदा मुलुकले निकास पाउन नसकेको बताए। उनले तत्काल चार दलको घेराबन्दीबाट तत्काल मुक्त नगरे मुलुक अर्को द्धन्दमा फस्ने चेतावनी दिदै दलीय घेराबन्दी फराकिलो नबनाए अब हुनेकुनै पनि निर्णय आफूहरुलाई मान्य नहुने स्पष्ट पारे। अबको सरकारको नेतृत्व दलले नै गर्नु पर्ने नभए दलीय राजनीति समाप्त हुने चेतावनी दिदै एक पटक निर्दलीय ब्यक्तिलाई नेतृत्व दिए फेरि फर्काउन आन्दोलन गर्नु पर्ने आवश्यकता आउने तर्फ सचेत गराए।

सदभावना पार्टीका महासचिव मनिष सुमनले राजनीतिक दलहरुको एक अर्काप्रति विश्वास नभएकोले स्वतन्त्र ब्यक्तिको नेतृत्व आवश्यक भएको भन्दै सबै भन्दा स्वतन्त्र ब्यक्ति प्रधानन्यायाधीश रहेकोले यसमा विवाद गर्न नहुने तर्क गरे। उनले निर्वाचन नहुँदा राजनीतिक दललाई जनताले विश्वास गर्ने आधार गुम्दै गएको तर्फ चिन्ता ब्यक्त गर्दै न्यायपालिकाको काम नगर्ने गरी प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिनु पर्ने बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस