सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १० फागुन। सञ्चालक समितिले गरेको भ्रष्टाचारलाई विरोध गर्दै एकहप्तादेखि अनसनमा बसेका धरानस्थित शनि मन्दिरका पूजारी विश्वप्रसाद पोख्रेल (काक बाबा) अचानक विरामी भएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञानको आकष्मिक कक्षमा भर्ना गरिएको छ।

गत फागुन ४ गतेदेखि समितिले मन्दिरको हिसावकिताब दुरुस्त नराखेको र षड्यन्त्रपूर्वक आफूलाई निकाल्न खोजेको भन्दै धरान ८ स्थित शनि मन्दिरमा स्थापना कालदेखि पुजारीको रुपमा काम गर्दे आएका काकवावाले एक साताअघि अनसन सुरु गरेका थिए। एक हप्ता वितिसक्दा पनि उनको मागलाई समितिले वेवास्ता गर्नुका साथै सम्बन्धित निकायले समेत चासो नदेखाएको कारण वाबाको अवस्था चिन्ताजनक भएको उनका सहयोगीहरुले वताएका छन्।
आफूले सात सूत्रीय माग राख्दै गरेको अनसनलाई षड्यन्त्रपूर्वक तोड्न समितिका पदाधिकारीहरुले धेरै कोशिस गरे पनि आफू दृढ रहेर बसेको र ज्यान गए पनि सत्य कुरा बाहिर ल्याउन आफू तत्पर रहेको बताए। उपचारमा संलग्न डा. निराजन पन्तीका अनुसार बाबाको अवस्था अहिले सुधार हुदै आएको बताउंदै रिपोर्ट आएपछि सबै कुरा थाहा हुने जानकारी दिए।

विगत एक महिना अगाडिदेखि सञ्चालक समिति र पुजारी काकबाबाबीच शनि मन्दिरको विषयमा लिएर विवाद चर्किएको थियो। सोही विषयलाई लिएर काकबाबा र शनि मन्दिर सञ्चालक समितिले आ–आफ्नो तर्फबाट पत्रकार सम्मेलन समेत गरेका थिए। उनीहरु एकअर्कालाई दोषारोपण गर्ने र सत्यतथ्य सार्वजनिक गर्न माग गर्दैआएका छन्।

समितिले काकबाबाले सो क्षेत्रलाई गाजाको अखडा बनाएको भन्दै फागुन १ गतेको निर्णयले ९ गतेसम्ममा मन्दिर छोड्न समितिको तर्फबाट निर्णय गरी आग्रह गरेको समितिकी अध्यक्ष पिंगला न्यौपानेले बताइन्। यता काकबाबाले भने आफूलाई जबरजस्ती राजीनामापत्रमा हस्ताक्षर गराउन लगाएर मन्दिर छोड्न बाध्य बनाएको बताएका छन्।

यस विषयमा केही समय अगाडि प्रमुख जिल्ला अधिकारी सुनसरीका प्रमुख लक्ष्मण थापाले अनसनमा बसेका काकबाबालाई भेटेर बाबाको स्वास्थ्य स्थितिबारे बुझे पनि शनि मन्दिरको विवादको विषयमा भने ठोस कदम नचालेको काकबाबाको आरोप छ।

भिडियोः सन्तोष काफ्ले /एचकेनेपाल डट कम


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस