एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ७ फागुन। ६४औं राष्ट्रिय प्रजातन्त्र दिवस बुधवार नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

यस उपलक्ष्यमा आज बिहान सूर्योदयका साथ नेपाली सेनाद्वारा भीमसेनस्तम्भ (धरहरा)बाट बिगुल बजाइनाका साथै तोप र बन्दुकबाट बढाइँ गरियो। प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदको आत्माको चीर शान्तिका लागि पूजापाठ तथा प्रार्थना पनि गरियो।

विक्रम सम्वत् २००७ फागुन ७ गते जहानियाँ राणाशासन अन्त भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो। सोही उपलक्ष्यमा सहिदद्वारमा विशेष कार्यक्रमबीच शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ। त्यसपछि प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिनेछ। आजै साँझ दीपावली पनि गरिनेछ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस