Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा ३८ लाख संकलन

मोहन राई / एचकेनेपाल डट कम-
पाख्रीबास धनकुटा, २२ फागुन । श्री जालपादेवी क्याम्पसको स्तरोन्नति तथा ओभरसियर कार्यक्रम संचालनको लागि सहयोगार्थ आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सत्रदेखि नै ठूलो मात्रामा भक्तजनहरुको उपस्थिति रहेको थियो। शुरुकै दिनमा सरस्वती थापाबाठ उद्घाटन गरिए लगत्तै उहाँका छोरा अर्जुन थापाले ५ रोपनी जग्गा प्रदान गर्नु भएको थियो। दोस्रो दिनमा सीतादेवी न्यौपानेले रु १,११,१११ रकम बराबरको जग्गा दान गर्नु भएको थियो। सोही दिन भूतपूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीलगायत अन्य वरिष्ठ नेताहरुको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनको तर्फबाट जालपादेवी क्याम्पसलाई रु ५०,००० को छात्रवृति अक्षय कोषको लागि दान गर्नु भएको थियो।

फागुन १६ गतेका दिन पाख्रीबास ३ का उत्तम कटुवाल र देवी कटुवाल ले रु ५५,५५५ दान गर्नु भएको थियो। महायज्ञको चौथो दिन कार्यक्रमका संयोजक ज्ञानबहादुरले रु १,११,१११ र देवबहादुर विक ले ५०,००५ सहयोग दिनु भएको थियो।

कार्यक्रमको सातौं दिन पाख्रीबास कै नारायण बस्नेतद्धारा स्व.ठूलो बुबा ईश्वरबहादुर बस्नेतको नाममा ईश्वर बहादुर बस्नेत छात्रबृति कोषको लागि रु ५५,५५५ दान गर्नु भएको थियो भने कार्यक्रमको अन्तिम दिन भूतपूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाले पनि उहाँको अनुपस्थितिमा रु १,०५,००५ दान गर्नु भएको थियो।

त्यसै गरी, नेकपा एमाले जिल्ला समिति धनकुटाले छात्रवृति कोषको लागि रु ५०,००० प्रदान गरेको छ।
समापन समारोहमा प्रमुख अतिथिको रुपमा वयोबृद्ध समाजसेवी दर्भसिंह बस्नेतको उपस्थिति रहेको थियो भने सभानायकहरु रामबहादुर खड्का, पदम बस्नेत, सीता देवी न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, श्रीमद्भागवत प्रचार प्रसार संघको धनकुटा शाखाको पनि गठन गरिएको प्रचारप्रसार संघका महासचिव राधव उपाध्यायले जानकारी दियो।

कार्यक्रममा विभिन्न क्षेत्रबाट व्यक्तिगत रुपमा कार्यक्रमलाई सफल बनाउनमा सहयोग गर्नु हुने ब्यक्तिहरुलाई तथा सम्पूर्ण संघका कलाकार तथा संघका प्रतिनिधिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो। त्यसै गरी, कार्यक्रमलाई सफल बनाउन स्वागतद्वार निर्माण गरिएकाहरुमध्ये उत्कृष्ट स्वागत द्वारको रुपमा आमा समूह पाख्रीबास ३ लाई सम्मान पत्र प्रदान गरिएको थियो। आमा समूह पाख्रीबासले पं रामकृष्ण उपाध्यायलाई दोसल्ला ओढाई सम्मान गरेका थिए।

समापन समारोहमा घोषणा गरिए अनुसार तुलादान र भूमिदान बाहेक नगद रकम लगभग रु ३८,०००,०० दान सहयोग प्राप्त भएपनि पूर्ण विवरण आउन बांकी रहेको आयोजकले जानकारी दिएको छ। नगद दानदाता, तुलादान गर्नेहरुको नाम र भूमिदाताहरुको नाम क्रमशः वेभ साइटमा अपडेट गर्दै लगिने जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by