एचकेनेपाल डट कम संवाददाता-
हङहङ, ६ फेब्रुवरी। बेपत्ता भएको ५ दिनपछि मङ्की हिलमा मृत अवस्थामा फेला परेका सुनचाँदी व्यवासायी इन्द्रकुमार लामिछाने (विश्वकर्मा)का छोरा शिव लामिछानेले बुबाको मृत्युपछि पनि बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले निरन्तरता पाईरहने बताएका छन्।

शिवले बाबुको भौतिक शरिर यस संसारमा नरहे पनि उहाँका सपना बाँकी रहेको बताउंदै त्यसलाई पूरा गर्न आफू र आफ्नो टिम लागि पर्ने बताए। उनले बराह ज्वेलरी पहिले जसरी नै सञ्चालनमा आइ रहने बताए। हङकङस्थित आफ्नै पसलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै शिवले आफ्ना ग्राहक, व्यापारमा सहकार्य गर्ने तथा सबै शुभेच्छुकहरुसंग बराह ज्वेलरीलाई पहिले जस्तै विश्वास र भरोसा गर्न आग्रह गरे।

‘धरान महेन्द्रपथ, काठमाडौं न्युरोड, पोखरा न्युरोड, देशबाहिर लण्डन अल्टरसट र गत जुनमा हङकङमा सञ्चालनमा आइसकेको बराह ज्वेलरीलाई बुबाले जापानमा समेत विस्तार गर्ने योजना बनाउनु भएको थियो’, शिवले भने-‘उहाँ नरहेपनि यो प्रक्रिया नरोकिने र जापानमा व्यवसाय विस्तार गरिने छ।’ बराह ज्वेलरी एउटा संगठनको रुपमा विस्तार भइसकेकोले बराह ज्वेलरीका संस्थापक अध्यक्षको अनुपस्थिति भएपनि बराह ज्वेलरी सञ्चालन भइरहने उनले बताए।

‘बुबाको मृत्युबारे हङकङ प्रहरीले अनुसन्धान प्रक्रिया जारी राखेको छ’, उनले भने- ‘बुबाको मृत्युको कारण के हो, हामी पनि अन्यौलमा छौं।’ व्यवसायको कारण बुबाको मृत्यु हुन नसक्ने दाबी गर्दै शिवले व्यवसाय राम्ररी चलिरहेको बताए।

‘बुबाको मृत्युबाट हामी दुखित छौं, यही दुःखलाई सुखमा परिणत गर्ने प्रयाश गरिरहेका छौं’, शिवले भने। दुःखको घडीमा आफू र आफ्नो परिवारलाई दिएको सहयोग र सहानुभूतिको लागि सबैलाई उने आभार प्रकट गरे। पत्रकार सम्मेलनलाई व्यापार सहयोगी लबकुमार गुरुङले सञ्चालन गरेका थिए।

इन्द्रकुमारको शव विहीवार बिहान श्रद्धाञ्जलि सभा कार्यक्रम सकेपछि नेपाल लगिने भएको छ। श्रद्धाञ्जलि सभा हुङहाम फ्युनेरल पार्लरमा विहान ९ देखि १२ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

फोटो तथा भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस