प्रचण्ड लेण्डुप दोर्जे बन्दैछनः गजुरेल
‘विप्पाको विरोध गर्नु नारायणकाजी श्रेष्ठको खोक्रो राष्टबाद’
एचकेनेपाल डट कम –
काठमाडौ, २४ माघ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सीमा विवादमा जनमत संग्रह गर्ने प्रस्ताव गरेर प्रचण्ड नेपाललाई सिक्किमीकरण गर्ने लेण्डुप दोर्जे बन्न खोजेको आरोप लगाएका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले सिक्किमलाई भारतमा विलय गराउने बेलामा लेण्डुप दोर्जे लगायतकाहरुले जनमत संग्रह गर्ने प्रस्ताव गरेको स्मरण गर्दै सीमा विवादमा जनमत संग्रह गर्ने प्रचण्डको प्रस्ताव डरलाग्दो राष्ट्रघात तर्फ उन्मुख बभएको दावी गरे। साक्षात्कारमा गजुरेलले भने–सिक्कीम भारतमा गाभिने बेलामा जनमतग्रहको माग गरिएको थियो । नेपालको राष्ट्रियता खतरामा परेको बेला यो विषय आउनु गंभिर हो । सिक्किममा लेण्डुप दोर्जेहरुले यस्तै माग गरेका थिए । तर यति छिटो यस्तो प्रस्ताव आउँछ जस्तो लागेको थिएन।
उनले नारायणकाजी श्रेष्ठले राष्ट्रियताको कुरा उठाउनु लाज लाग्दो विषय भएको उल्लेख गर्दै आवश्यक पर्दा उनी बाबुराम भट्टराई र प्रचण्ड भन्दा कम राष्ट्रघाती नहुने ठोकुवा गरे । गजुरेलले भने–नारायणकाजी राष्ट्रबादी होईनन, उनले मालिकले दिएको मुद्दा उठाएका मात्रै हुन्। उनले आफै सहभागि भएको सरकारले गरेको विप्पा सम्झौताको विरोध गर्न अहिले नसुहाउने भन्दै राष्ट्रबादी भएको भए त्यती बेला नै सरकार छाडेर विरोध गर्नु पर्ने तर्क गरे। दक्षिण अमेरिकी राष्ट्रहरुमा आर्थिक सेना बनाएर अफिमको तस्करी र समुन्द्री डकैती गर्ने गरेको उल्लेख गर्दै प्रचण्डले बनाउने प्रस्ताव गरेको आर्थिक सेना पनि त्यस्तै भएको आरोप लगाए।
गजुरेलले भने–जनमुक्ती सेनालाई आत्मसर्मपण गराएर गठन गर्न लागिएको आर्थिक सेना के हो ? यो रक्तचन्दन, यार्सा गुम्बाको तस्करीमा अधिपत्य जमाउनमात्र हो । यसले नेपालको अर्थतन्त्रलाई कहाँ पुर्याउँछ गंभिर आशंका छ। एमाओवादीले विधिवत रुपमा कम्यूनिष्ट सिद्धान्त छाडेको दावी गर्दै उनले कम्यूनिष्ट सिद्धान्त छाडे पनि प्रचण्ड र बाबुराम भट्टराई भट्टराईसँग सैद्धान्तिक आधार नभएकोले संसदीय ब्यवस्थामा आउँछन भनेर एमाले र काग्रेस भ्रममा पर्न नहुने तर्क समेत गरे। आफूहरुले पहिला देखि चिनाउन गरेको प्रयास कठिन भईरहेको अवस्थामा महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावले प्रचण्डले आफूले आफूलाई प्रष्ट बनाएकोमा धन्यबाद दिए।
स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्री बनाए नेपालका राजनीति दलहरु कमण्डलु बोकेर हिड्नु जस्तै भएको तर्क गर्दै उनले राजनीतिक दलहरुलाई छाडेर कर्मचारीलाई प्रधानमन्त्री बनाउने कुरा आफ्नो पार्टीलाई मन्जुर नभएको तर्क गरे। गजुरेलले नेपालका राजनीतिक दलहरु सरकार बनाउन र चलाउन सक्षम भएकोले निर्वाचनको लागि सहमतिको चुनावी सरकार नै बनाउनु पर्ने बताए।
विपक्षी दलहरुको आन्दोलन बाबुराम भट्टराईलाई हटाएर अर्को ब्यक्तिलाई ल्याउनेमा केन्द्रीत रहेकोले त्यो आन्दोलनमा आफूहरुको सहभागि नरहने स्पष्ट पार्दै उनले भटटराई हटाउने सहित, जनजीविका, राष्ट्रिय स्वाधिनता र संविधान निर्माणको विषयलाई छुट्टै आन्दोलनमा जाने बताए। उनले भने–बाबुरामजीलाई हटाउँनै पर्छ त्यसको लागि हामिले फागुण १ गते देखि आन्दोलन थाल्छौ। उनले आफूहरु अहिले सशस्त्र सेना बनाउने पक्षमा नभएको स्पष्ट पार्दै आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने बताए।
साक्षात्कारमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिपक्षको आन्दोलन सत्ताको लागि र सत्तापक्षको आन्दोलन लुट गर्ने छुट पाउनको लागि भएकोले आफूहरु छुटटै मोर्चा निर्माण गरेर आन्दोलनको तयारीमा जुटेको उल्लेख गर्दै निष्पक्ष निर्वाचनको लागि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार बन्नु पर्ने धारणा राखे।
उनले अहिलेको निकास बर्तमान सरकारको बर्हिगमन त्यसपछि ताजा जनादेश र त्यसको लागि तटस्थ चुनावी सरकार निर्माण भएको भन्दै घोषणा गरेर निर्वाचन गर्न सक्ने, शान्ति, सुरक्षा, शुसासन दिन नसक्ने सरकार अब कुनै कुराको पनि आशा नभएकोले स्वतन्त्र ब्यक्तिको नेतृत्व हुनु पर्ने तर्क गरे। एकीकृत नेकपा माओवादी सुध्रिएर लोकतान्त्रिक बाटोमा आउला भन्ने आफूलाई विश्वास नै नभएको भन्दै यादवले भने–संसारमा कतै पनि माओवादी सुध्रिएको ईतिहास छैन। नेपालमा सुध्रिए अचम्म हुन्छ।
राष्ट्रियतका विषयमा नारायणकाजी श्रेष्ठको प्रस्ताव प्रति आश्चर्य प्रकट गर्दै यादवले थपे–आफ्नै उपस्थितिमा भएको विप्पा सम्झौताको विरोध गर्न सुहाउँदैन। विरोध गर्ने नै भए सरकार छाडेर गर्न सक्नु पर्दथ्यो। सीमा विवाद कुट्नीतिक च्यानलबाट प्राविधिकहरु परिचालन गरेर गर्नु पर्नेमा प्रचण्डले जनमत संग्रहबाट गर्नु पर्छ भनि गरको प्रस्तावलाई हास्यास्पद भन्दै सीमा विवादमा जनमत संग्रह हुनै नसक्ने तर्क गरे।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरदसिंह भण्डारीले विधी विहीनताको अवस्थाका कारण सरकार सर्वसत्ताबाद तीर उन्मुख भएको भन्दै अहिलेको निकास बर्तमान सरकारको बर्हिगमन र नयाँ स्वतन्त्र चुनावी सरकार मार्फत निर्वाचन मत्रै भएको दावी गरे। ठूला दलहरु सत्तामा पुगेर त्यसको दुरुपयोगबाट जनता प्रभावित गराउने खेलमा लागेकोले पनि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन हुनु पर्ने उनको तर्क थियो । उनले थपे –नेपालका राजनीतिक दलहरु असफल भएकै कारणले पनि अब समयसीमा तोकेरै निर्वाचन गराउनको लागि मात्रै स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्छ।
सीमा विवादलाई जनमत संग्रहबाट टुङग्याउने प्रचण्डको प्रस्ताव बौद्धिक दिवालिया पन भएको भन्दैसीमा विवाद ऐतिहासिक र सहमतिको आधारमा टुङग्याउनु पर्ने बताए। जनमत संग्रहको प्रस्ताव आफूले बुझ्न नसकेको भन्दै उनले बर्तमान विश्व परिस्थितिका कारण पनि नेपाल सिक्किमीकरण हुने कुनै सम्भावना नरहेको दावी गरे। आफ्नो पार्टी विप्पा सम्झौताको पक्षमा रहेको स्पष्ट पार्दै नेपालले अन्तर्राष्ट्रिय लगानी संरक्षण गर्न नसके विदेशी लगानी आउनै नसक्ने ठोकुवा गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b