एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १९ माघ । नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका नौ जना प्रतिभालाई २०६९ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन्।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको पूर्ण बैठकले सो निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा प्रेसित सूचनामा जनाइएको छ।
धर्मसंस्कृतिको सबर्धन, संरक्षण र जागरणमा समर्पित श्री १००८ स्वामी भागवताचार्यलाई नइ चन्द्रधन पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। यसैगरी, मानव समुदायभित्र रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्गठन विस्तार र सेवामा राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत तेस्रो लिङ्गी भूमिका श्रेष्ठलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिने भएको छ। त्यसैगरी, नेपालको राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन, विश्लेषण र जागरणका निम्ति डा. भीमार्जुन आचार्यलाई नइ कीर्तिनिधि पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।
आधुनिक कविताको स्तरीय सृजना गर्दै सङ्गठनात्मक रूपमा समेत देशदेशान्तरमा नेपाली भाषाको गरिमा वढाएवापत विश्वविमोहन श्रेष्ठलाई नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । नेपाली वाङ्मय तथा संस्कृतिको विकास र सम्बर्द्धनमा निरन्तर समर्पित भई गरिमाशाली योगदान पुर्याएवापत शीला पन्तलाई नइ भाजप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। साथै आधुनिक गजल, कविता, कथा र उपन्यास लेखनमा समर्पित रही नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाहका निम्ति श्रेष्ठ प्रिया पत्थरलाई नइ रेखा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।
नेपाली भाषासाहित्यको विशेष गरेर अन्वेषण विधामा महत्त्वपूर्ण योगदान गरेवापत प्रा.डा. जयराज पन्तलाई नइ ईश्वर बराल पुरस्कार प्रदान गरिने भएको छ। आधुनिक सङ्गीतमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा नेपाली सङ्गीतको महिमा बढाएबापत न्ह्यू बज्राचार्यलाई नइ कोइलीदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। त्यसैगरी विदेशमा रहेर पनि नेपाली भाषा साहित्यमा समर्पित भई कृति निर्माणमा समेत योगदान गर्ने अमेरिकाका नगेन्द्र न्यौपानेलाई ुदरबार बाहिरकी महारानीु उपन्यासका निम्ति नइ गणेशदुर्गा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।
यी पुरस्कार आगामी फागुन २४ गते काठमाडौंमा प्रदान गरिने छन्। नइ प्रकाशनले देशदेशान्तरका २५ जना प्रतिभालाई हरेक वर्ष तीन चरण गरेर ११ लाख रूपियाँ राशिका पुरस्कार पदान गर्दै आइरहेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b