Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जर्नेल नपाए समायोजन मान्दैनौँ: मन्त्री बोगटी

सन्तोषकुमार राउत / एचकेनेपाल डट कम-
सोलुखुम्बु, २२ फागुन । उर्जा मन्त्री एवम् एकीकृत नेकपा माओबादीका सचिब पोष्टबहादुर बोगटीले सेना समायोजनमा आफूहरुले जर्नेल नपाएसम्म कुनै पनि हालतमा समायोजन हुन नसक्ने स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री बोगटीले माओबादी सेना समायोजन अरु अवस्था भन्दा बिशिष्ट भएकाले मापदण्ड भन्दा पनि राजनैतिक निर्णयको आधारमा समायोजन गरिनु पर्ने जिकिर गरे।

क्लबका अध्यक्ष भानुभक्त निरौलाको सभापतित्वमा भएको साक्षात्कारमा काँग्रेस र एमालेकै कारण शान्ति प्रकृया अडि्कएको आरोप लगाउँदै मन्त्री बोगटीले मेजरमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताए।

शान्ति, संविधान र संघियता माओबादी एजेण्डा भएको दोहोर्याउँदै बोगटीले अन्य दलहरुको यही रबैया कायम रहेमा जेठ १४ भित्र नयाँ संविधान जारी नहुने चेतावनी दिदै जेठ १४ पछिको नेपाल साँच्चिकै भयावह स्थितिमा जाने बताए।

अध्यक्ष प्रचण्ड निकट मानिने माओबादी सचिब बोगटीले बाबुराम भट्टराई सरकारको विकल्प दिन तयार रहेको उल्लेख गर्दै बैद्य पक्षले राजिनामा माग्नुको कुनै औचित्य नभएको दावी गरे।

संचारकर्मीको एक जिज्ञासामा आफ्नो पार्टीभित्र बैद्य पक्षको बोली विगतमा पनि नबिकेको र अब पनि खासै महत्व नराख्ने जिकिर बोगटिको थियो। उनले राष्ट्रिय सहमितको सरकारको बाताबरण बन्ना साथ प्रधानमन्त्री भट्टराईले राजिनामा दिने समेत स्पष्ट पारेका थिए।

एक अर्को प्रसंगमा उर्जा मन्त्री बोगटीले आफ्नो कार्यकालमा लोडसेडिङ घटाउन विभिन्न रणनीति अघि सारिएको उल्लेख गर्दै विक्रम संबत २०७५ सालभित्र नेपाललाई लोड सेडिङमुक्त मुलुक बनाउने उद्घोष समेत गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by