एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ माघ। साहित्यकार घनश्याम शर्मा ‘त्रिमूर्ति पुरस्कार’ बाट पुरस्कृत हुनु भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला, डा.मोदनाथ प्रश्रित र उषा शेरचनबाट स्रष्टा शर्मालाई एक कार्यक्रमबीच शनिवार त्रिमूर्ति पुरस्कार प्रदान गरिएको हो।

नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि कथा सिर्जनाका माध्यमबाट विशिष्ट योगदान दिएवापत शर्मालाई ‘त्रिमूर्ति पुरस्कार’ प्रदान गरिएको हो। ताम्रपत्र सहित यस पुरस्कारको राशि पच्चीस हजार रुपियाँ रहेको छ। उक्त कार्यक्रम शर्माको निवास काठमाडौको घट्टेकुलोमा गरिएको थियो।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला, विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्ष प्रा.डा.गार्गी शर्मा, उपाध्यक्ष प्रा.डा.उषा ठाकुर, त्रिनारीरत्न स्मारकका संयोजक डा.मोदनाथ प्रश्रित र सदस्यसचिव नरेन्द्रराज प्रसाईले शर्माको साहित्यिक योगदानको चर्चा गर्दै हालको स्थितिप्रति दुक्ख व्यक्त गरे।

कार्यक्रममा त्रिमूर्ति निकेतनका कोषाध्यक्ष तथा विश्व नारी नेपाली साहित्य सम्मेलनका उपाध्यक्ष उषा शेरचनले व्यक्तिग रूपमा शर्मालाई पाँच हजार रूपियाँ प्रदान गर्नुभयो।

शर्माको जन्म २०२१ सालमा अछाममा भएको थियो । शर्माका ‘धुलोमा उडेका सपनाहरू’ (२०६०), ‘अभिशप्त समय’ (२०६४) र ‘छिरिङ डोल्मा र अनाम सहिदहरू’ (२०६८) नामक कथाका कृतिहरू प्रकाशित छन्। साथै शर्माका विभिन्न पत्रपत्रिकामा झन्नै १०० वटा फुटकर रचना प्रकाशित भैसकेका छन्।

भौतिक योजना तथा निर्माण मन्त्रालयका इन्जिनियर घनश्याम शर्मा २०६८ साल बैशाख २६ गतेदेखि अचेतन अवस्थामा हुनुहुन्छ। काठमाडौको तीनकुनेस्थित ट्राफिकको रातो बत्तीमा उहाँ चढेको मोटर साइकल रोकिरहेको बेला तीब्र गतिमा आएको मोटरले पछाडिबाट उहाँलाई हानेको थियो। चिकित्सकीय भाषामा हाल उहाँ वनस्पती जस्तै तर जीवित अवस्थामा हुनुहुन्छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस